सिरहा, ८ जेठ । जिल्लाको लहान नगरपालिका-१३ घलेटोल मुसहर बस्तीका अतिविपन्न २० परिवारलाई नयाँ सुरक्षित घर हस्तान्तरण गरिएको छ । लहान नगरपालिका, ह्याविट्याट फर ह्युमानिटी नेपाल र भवानी एकीकृत विकास केन्द्रको त्रिपक्षीय साझेदारीमा निर्माण भएका ती घर आज यहाँ आयोजित एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।
आर्थिक वर्ष २०८१/८२ को ‘विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण कार्यक्रम’ अन्तर्गत लहान नगरपालिकाको ६९ लाख ४ हजार र ह्याविट्याट फर ह्युमानिटी नेपालको १६ लाख ६६ हजारको आर्थिक लगानीमा ती आवास निर्माण गरिएका हुन् । घर निर्माणमा भवानी एकीकृत विकास केन्द्रको प्राविधिक सहयोग रहेको थियो भने लाभग्राही परिवारले आफैँ श्रमदान गरेका थिए ।
नवनिर्मित प्रत्येक घरमा दुईवटा कोठा, एक भान्सा कोठा, बरण्डा र शौचालयको व्यवस्था गरिएको छ । भवानी एकीकृत विकास केन्द्रका प्राविधिक एवं कार्यक्रम संयोजक सुजित चौधरीका अनुसार यी घरहरू भूकम्पप्रतिरोधी हुनुका साथै यिनीहरूको न्यूनतम आयु ३० वर्षभन्दा बढी छ ।
नयाँ घरको चाबी हस्तान्तरण गर्दै लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले नगरभित्रका कोही पनि विपन्न नागरिक घरविहीन हुन नपरोस् भन्ने उद्देश्यले स्थानीय सरकारले काम गरिरहेको बताए । उनले भने, “हरेक विपन्न र भूमिहीन नागरिकको एउटा सुरक्षित र भरपर्दो घर होस् भन्ने सपना हुन्छ । स्थानीय सरकारको हैसियतले हामीले उहाँहरूको त्यही सपनालाई क्रमशः साकार पार्दै लगेका छौँ । यो अभियान आगामी दिनमा पनि निरन्तर जारी रहनेछ ।”
यसअघि यहाँका वडा नम्बर १५, १२, २१, २२ र १३ मा गरी दुई सयभन्दा बढी सुरक्षित घर निर्माण गरेर लक्षित परिवारलाई हस्तान्तरण गरिसकिएको छ । विगत लामो समयदेखि आवासको क्षेत्रमा काम गरिरहेको ह्याविट्याट फर ह्युमानिटी नेपालका कार्यक्रम संयोजक नासिन श्रवणले संस्थाले सिरहामा सुरक्षित आवासका लागि निरन्तर सहकार्य गरिरहेको उल्लेख गरे । उनका अनुसार चालु आर्थिक वर्षभित्र नगरको वडा नं १३ मा थप १० घर, वडा नं १५ मा सात घर र वडा नं १८ मा आठ घर निर्माण गरी हस्तान्तरण गर्ने योजना छ ।
त्यस्तै, प्राविधिक सहयोग पुर्याएको भवानी एकीकृत विकास केन्द्रका कार्यक्रम निर्देशक सुजित चौधरीले नवनिर्मित घर बलियो र सुरक्षित रहेको दाबी गरे । उनले भने, “यी नवनिर्मित घर प्राविधिक रूपमा पूर्ण रूपमा भूकम्पप्रतिरोधी छन् । स्थानीय वातावरण अनुकूल हुनेगरी निर्माण गरिएका यी घरको आयु ३० वर्षभन्दा बढी छ । जसले गर्दा मुसहर परिवार अब वर्षा र मौसमको जोखिमबाट सुरक्षित रहनेछन् ।”
यसैबीच, वर्षौँदेखि फुसको कच्ची झुपडीमा कष्टकर जीवन बिताउँदै आएका घलेटोलका मुसहर परिवार आधुनिक र सुरक्षित पक्की घर पाएपछि हर्षित भएका छन् । नगरको यो काम सकारात्मक पहलका रूपमा रहेको स्थानीयले प्रतिक्रिया दिएका छन् । रासस



प्रतिक्रिया