बीपी राजमार्गको चार सय बेँसी खण्डमा १० दिनभित्र नयाँ ट्रयाक सञ्चालनमा ल्याउने तयारी


काठमाडौँ । बीपी राजमार्गको मर्मत तथा पुनर्निर्माण अन्तर्गत चुनौतीपूर्ण मानिएको चार सय बेँसी खण्डको नयाँ ट्र्याक आगामी १० दिनभित्र सञ्चालनमा ल्याइने भएको छ ।

सङ्घीय संसद्को पूर्वाधार विकास समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले सो क्षेत्रको स्थलगत अनुगमन गरी निर्माण कार्यको प्रगतिबारे जानकारी दिएका हुन् । हाल उक्त खण्डमा सवारी साधनहरू तलको डाइभर्सन (वैकल्पिक मार्ग) बाट गुडिरहेका छन् । माथिल्लो मुख्य ट्र्याक खुलिसकेको भए पनि निर्माण कार्यमा अवरोध नपुगोस् भन्ने उद्देश्यले अहिले सर्वसाधारणका लागि पूर्ण रूपमा खुला गरिएको छैन ।

अनुगमनका क्रममा आयोजनाका प्राविधिकहरूले पछिल्लो १५ दिनमा ट्र्याक खोल्ने काम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए । आगामी १० दिनभित्र फिलिङ र बाँकी निर्माण कार्य सकेर माथिल्लो सडकबाटै सवारी साधन गुड्ने वातावरण मिलाइने लक्ष्य राखिएको छ ।

परियोजना अन्तर्गत भकुण्डेबेसी खण्डको जटिल कामहरू सम्पन्न भइसकेकाले यस ४२० किलोमिटरको खण्डलाई अन्तिम क्रिटिकल प्वाइन्टका रूपमा लिइएको छ ।