भातरतीय प्रधानमन्त्री मोदीलाई अमेरिका भ्रमणको निम्तो


नयाँ दिल्ली । अमेरिकी विदेश मन्त्री मार्को रुबियोले शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।

भेटका क्रममा विदेश मन्त्री रुबियोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका तर्फबाट प्रधानमन्त्री मोदीलाई अमेरिका भ्रमणको औपचारिक निमन्त्रणा हस्तान्तरण गरेका छन् ।

एएनआईका अनुसार दुई नेताबिच रक्षा, व्यापार, ऊर्जा, रणनीतिक प्रविधि र इन्डो–प्यासिफिक क्षेत्रमा सहकार्य गर्ने विषयमा विस्तृत छलफल भएको छ । बैठकमा पश्चिम एसियाको पछिल्लो अवस्था र इरान संकटबारे पनि गम्भीर विमर्श भएको छ ।

यस उच्चस्तरीय बैठकमा भारतका विदेश मन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, भारतका लागि अमेरिकी राजदूत सर्जियो गोर र अमेरिकी अन्डर सेक्रेटरी एलिसन हुकरको उपस्थिति थियो ।

रुबियोको यो भ्रमण अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमणको एक साताभित्रै भएको हो । अमेरिकी मिडियाहरूले यसलाई केवल कूटनीतिक भ्रमण नभई ड्यामेज कन्ट्रोल मिसनको रूपमा व्याख्या गरेका छन् ।

ुन्यूयोर्क टाइम्सुका अनुसार ट्रम्पको हालैको चीन भ्रमणले एसियाली राजनीतिमा नयाँ हलचल पैदा गरेको छ । बेइजिङमा ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङको खुलेर प्रशंसा गर्दै उनलाई ुमहान नेताु र ुविशेष मित्रु भन्दै सम्बोधन गरेका थिए, जसले भारतको चासो बढाएको छ ।

पछिल्लो एक वर्षदेखि भारत र अमेरिकाबिच केही मुद्दाहरूलाई लिएर सम्बन्धमा चिसोपन देखिएको थियो । गत वर्ष ट्रम्पले भारतमाथि भारी ट्यारिफ लगाएका थिए । यसको पृष्ठभूमिमा प्रधानमन्त्री मोदीले ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्न अस्वीकार गर्नु र ट्रम्पले भारत–पाकिस्तान विवादमा आफूले मध्यस्थता गरेको भनी गरेको दाबीलाई भारतले सार्वजनिक रूपमा खारेज गर्नु मुख्य कारण मानिन्छ ।

साथै पछिल्लो समय ट्रम्पले पाकिस्तानका नेताहरूको प्रशंसा गर्दै इरानसँगको युद्धमा पाकिस्तानलाई मध्यस्थकर्ताको रूपमा अघि सार्नुले नयाँ तनाव सिर्जना गरेको छ । यसले वासिङ्टनले पुनः पाकिस्तानलाई महत्त्व दिन थालेको संकेत भारतले पाएको छ ।

यस्तो जटिल परिस्थितिमा, रुबियोको यस भ्रमणको मुख्य उद्देश्य भारतसँगको पुरानो सम्बन्धलाई पुनर्जीवित गर्नु र ट्रम्प सरकारको एसियाली रणनीति तथा चीनसँगको सम्बन्धको दिशाबारे भारतलाई स्पष्ट पार्नु रहेको कूटनीतिक मामिलाका जानकारहरू बताउँछन् । एजेन्सी