देशका कुन-कुन राजमार्ग छ बन्द ?


काठमाडौँ । देशका विभिन्न भागमा आएको बाढी र पहिरोका कारण मुख्य राजमार्गहरूमा क्षती पुगेकोे छ ।

आइतबार बिहान ८ बजेसम्मको आधिकारिक तथ्यांकअनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डमा आवागमनमा अवरोध पुगेको हो ।

जेठ ८ गते गएको बाढी र पहिरोका कारण पाँचथरको याङवरक गाउँपालिकाअन्तर्गत वडा नम्बर ३ को ओयाम बजार र रिजालभिर तथा वडा नम्बर २ को दोभानमा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

यस्तै कोशी प्रदेशको भोजपुर नगरपालिका ५ बोखिममा बाढीले क्षति पुर्‍याएको मध्यपहाडी लोकमार्ग हाल एकतर्फी सुचारु भएको छ । त्यसैगरी, पहिरोले अवरुद्ध संखुवासभाको मकालु गाउँपालिका-३ नयाँ बस्तिस्थित कोशी राजमार्ग पनि एकतर्फी रूपमा मात्र सञ्चालनमा आएको छ।

यता बागमती र कर्णाली प्रदेशका केही राजमार्गमा भने सम्भावित जोखिमलाई हेरेर पूर्वसावधानी अपनाइएको छ। बागमती प्रदेशअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लामा सम्भावित बाढीको जोखिमका कारण बीपी राजमार्गमा यातायात ठप्प पारिएको छ। वैशाख २२ गतेदेखि खुर्कोटनेपालथोककटुञ्जेबेंसी चल्ने सम्पूर्ण सवारी साधनहरूलाई उक्त सडक खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको हो।

गण्डकी प्रदेशको म्याग्दी जिल्लामा बेनीजोमसोम सडक खण्ड दुई छुट्टाछुट्टै स्थानमा गएको पहिरोका कारण प्रभावित भएको छ। अन्नपूर्ण गाउँपालिका-३ जलथलेमा वैशाख १६ गते र रघुगंगा गाउँपालिका३ तल्लो बैसरीमा जेठ -७ गते गएको पहिरो पन्छाएर हाल उक्त सडक खण्ड एकतर्फी मात्र सुचारु गरिएको छ।