नेपालले अघि सारेको आर्थिक वृद्धि र रोजगारी सिर्जनाको लक्ष्यलाई सघाउन बेलायत इच्छुक


काठमाडौँ । संयुक्त अधिराज्य (बेलायत) की इण्डो–प्यासिफिक राज्यमन्त्री सीमा मल्होत्राले नेपाल र बेलायत बिचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ र आधुनिक बनाउन शिक्षा, सीप विकास र आर्थिक सहकार्य मुख्य आधार रहेको बताएकी छन् ।

आफ्नो पहिलो नेपाल भ्रमणका क्रममा आइतबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई देशबिचको २०० वर्षभन्दा पुरानो मित्रता र १०० वर्षअघि हस्ताक्षरित मैत्री सन्धिलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरिन् ।

मन्त्री मल्होत्राले शिक्षा र अर्थतन्त्र एक अर्कासँग अभिन्न रूपमा जोडिएको उल्लेख गरिन् । नेपाल सरकारले अघि सारेको आर्थिक वृद्धि र रोजगारी सिर्जनाको लक्ष्यलाई सघाउन बेलायत इच्छुक रहेको उनको भनाइ छ ।

भ्रमणका क्रममा मन्त्री मल्होत्राले नेपालका शिक्षा, परराष्ट्र र अर्थमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरी दुई पक्षीय हितका विषयमा छलफल गरेका थिए । ती भेटहरूमा आधारभूत सिकाइ ढाँचा, बालिका शिक्षा र अटिजम भएका बालबालिकाका लागि विशेष शैक्षिक सहयोगका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको उनले जानकारी दिइन् ।