हावाहुरीले विभिन्न स्थानमा रुख ढल्दा बिजुली आपूर्ति अवरुद्ध


काठमाडौं, जेठ ११ । हावाहुरीका कारण देशका विभिन्न स्थानमा रुख ढल्दा बिजुली आपूर्ति अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार प्रतिकूल मौसमका कारण रुख ढल्दा केही स्थानमा अस्थायी रूपमा विद्युत् आपूर्तिमा अवरोध उत्पन्न भएको हो । प्रभावित क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोलीहरू निरन्तर रूपमा खटिइ मर्मत तथा पुनःसञ्चालनको कार्य सुरु गरिएको जनाइएको छ ।

विवरणअनुसार पिलुवा–पथलैया–चन्द्रनिगाहपुर खण्डको टावर नं १२२–१२३ बीच रुख ढलेर प्रसारण लाइन प्रभावित भएकामा उक्त रुख हटाउने कार्य सम्पन्न भइसकेको छ । हाल सर्किट चार्ज गर्ने कार्य भइरहेको प्राधिकरणले जनाएको छ । यस्तै सोही खण्डको (टावर नं १३६–१३७) मा तीन वटा रुख हटाइएको छ तथा लाइन पुनःसञ्चालनका लागि आवश्यक प्राविधिक कार्य जारी रहेको छ ।

टावर नं ४६–४७ बीच एक रुखका कारण प्रसारण लाइनको कन्डक्टरमा क्षति पुगेको छ । मर्मतका लागि प्राविधिक टोली घटनास्थलमा पुगिसकेको छ र ‘स्ट्रिङिङ’ कार्य सुरु गरिएको छ । आइतबार दिउँसोको हुरीले देशका विभिन्न स्थानमा बिजुली आपूर्तिमा समस्या आएको थियो । सोमबार बिहानसम्म सहज रूपमा बिजुली आपूर्ति गराउने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ ।