पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने


कास्की, जेठ ११ । पोखरा महानगरपालिका विगत लामो समयदेखिको प्रयासपछि फिर्केको अतिक्रमण हटाउन सफल भएको छ ।बजारको मध्यभाग भएर बग्ने यस खोलाको अतिक्रमण हटाउने योजना अघिल्लो कार्यकालकै जनप्रतिनिधिको थियो । तत्कालीन प्रमुख मानबहादुर जिसीले डोजर चलाएर सुरुआतसमेत गर्नुभएको थियो ।

तर त्यो काम एक दिनपछि अघि बढ्न सकेन । फिर्के मापदण्डको विरोधमा स्थानीयले न्यायालयसम्म गुहारेका थिए । यसलगायत विविध कारणले अतिक्रमण हटाउने प्रयास सफल हुन सकेको थिएन ।

अहिले भने पोखरा महानगरपालिकाले सङ्घीय सरकारको समेत बलियो साथ पाएपछि फिर्केको खोलाघर हटाउने कार्य आइतबारदेखि सुरु गरेको । पहिलो दिन शान्तिपूर्ण रुपमा सो कार्य सम्पन्न भयो । खोलघरमा निजी÷व्यक्तिगत स्थायी ३५ र अस्थायी ९७ संरचना बनेका छन् । यसैगरी संस्थागत स्थायी १८ र अस्थायी १० वटा संरचना छन् ।

महानगरले अतिक्रमण हटाउने कार्य निरन्तर अभियानका रूपमा चल्ने जनाएको छ । स्थानीयले समेत खोलाघर हटाउने कार्यमा महानगरलाई साथ दिएका छन् । खोलाघरमै बनेका संरचना हटाउनपर्छ भने पनि त्यसपछिको मापदण्डको भने स्थानीयले विरोध गरेका छन् । फिर्के मापदण्ड छ मिटर वैज्ञानिक र व्यवहारिक नभएको गुनासो फिर्के क्षेत्रका नागरिकको छ ।

फिर्केको खोलाघर खाली गरेपछि महानगरले फिर्के करिडोर परियोजना सुरु गर्ने योजना बनाएको छ । यस परियोजनाका लागि दातृ निकायबाट सहयोग प्राप्त हुने महानगरले जनाएको छ । पोखरालाई ‘हरित, स्वच्छ, आधुनिक र विश्वस्तरीय नदी–करिडोर सहर’ का रूपमा स्थापित गर्ने दूरदर्शी अभियान फिर्के करिडोर परियोजना रहेको महानगर प्रमुख धनराज आचार्यले बताए।

प्रमुख आचार्यका अनुसार फिर्के करिडोरको मुख्य अवधारणामा फिर्के खोलाको दायाँ–बायाँ कम्तीमा छ मिटर मापदण्ड कायम गर्दै व्यवस्थित फुटट्रेल, सुरक्षित साइकल लेन, ‘मर्निङ’ तथा ‘इभिनिङ’ वाकका लागि आकर्षक पदमार्ग निर्माण गरिनेछ । “फिर्के खोलालाई प्राकृतिक सौन्दर्य, पर्यावरणीय सन्तुलन, पर्यटन र नागरिक जीवनशैलीसँग जोडेर नयाँ सहरी पहिचान दिने लक्ष्य राखिएको छ । खोलाको प्राकृतिक बहाव संरक्षण गर्दै दुवै किनार हरियाली बेल्ट, रैथाने बोटबिरुवा, ढुङ्गे तटबन्ध, स्मार्ट एलइडी लाइटिङ तथा वातावरणमैत्री सार्वजनिक खुला क्षेत्रले सजाइनेछ,” महानगरले प्रमुख आचार्यले भने ।

करिडोरभित्र ठाउँठाउँमा पोखरेली शैलीमा विश्रामस्थल, कफी पोइन्ट तथा खुला क्याफे, सेल्फी पोइन्ट र दृश्यावलोकनस्थल, सानो खुला पार्क तथा बस्ने चौतारी, सांस्कृतिक तथा कलात्मक संरचना, बालमैत्री र ज्येष्ठ नागरिकमैत्री खुला क्षेत्र निर्माण गरिने महानगरको योजना छ ।

“फिर्के करिडोरलाई केवल हिँड्ने बाटो होइन, जीवनशैली र मनोरञ्जनको सार्वजनिक गन्तव्य बनाउने छौँ । यो भविष्यको पोखराको नयाँ सहरी पहिचान बन्नेछ, जहाँ प्रकृति, आधुनिक पूर्वाधार, पर्यटन, स्वास्थ्य, वातावरण र नागरिक जीवनशैलीको सुन्दर सङ्गम हुनेछ,” आचार्यले भने ।

पोखरा गणेशटोलका लोकनाथ भण्डारी खोलाघर भत्काइसकेपछि उचित व्यवस्थापन र दिगो विकास योजना ल्याउनुपर्ने बताउँछन्। “फिर्केखोला खाली गर्ने कार्यमा हामी स्थानीयको सहयोगनै छ । तर मापदण्डको नाममा व्यक्तिको जमिनमा मनपरि मापदण्ड लागू गर्न पाइँदैन । महानगरलाई आवश्यक परे मुआब्जा दिनुपर्दछ । फिर्के वरपरका संरचना भत्काइसकेपछि यसको व्यवस्थित विकासको योजना ल्याउनुपर्छ”, भण्डारीले भने।

पोखरा १८ अधेरिकुनादेखि वडा न २-४-५-७-८-१७ हुँदै वडा नं ६ स्थित पर्यटकीय गन्तव्य फेवाताल–गाईघाटसम्म फैलिएको फिर्के आठ किमी लामो छ ।