धनुषा । मिथिला बिहारी नगरपालिकामा सार्वजनिक सुनुवाइसँगै संवाद एक्सप्रेस कार्यक्रम सम्पन्न भएको छ। मधेश प्रदेशको धनुषा जिल्लास्थित तारापट्टिमा मिति २०८३ जेठ १० गते न्युज एक्सप्रेस मिडिया प्रा.लि.द्वारा आयोजित उक्त कार्यक्रम नगरको विकास, सेवा प्रवाह, सुशासन तथा जनचासोका विविध विषयमा केन्द्रित रहेको थियो।
कार्यक्रममा नगरप्रमुख राजेन्द्र प्रसाद यादव, उपप्रमुख शोभा देवी शाह तथा प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र न्यौपानेको उपस्थिति रहेको थियो। साथै नगरका सम्पूर्ण वडा अध्यक्ष, बुद्धिजीवी वर्ग, सरोकारवाला निकायका प्रतिनिधि तथा स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, सडक निर्माण, कृषि तथा रोजगारी सिर्जनाजस्ता स्थानीय आवश्यकताका विषयमा विस्तृत छलफल गरिएको थियो। नगरपालिकालाई थप समृद्ध, व्यवस्थित र जनमुखी कसरी बनाउन सकिन्छ भन्ने विषयमा सहभागीहरूबीच खुला बहस तथा सुझाव आदान–प्रदान भएको थियो।
सो अवसरमा नगरप्रमुख यादवले आफ्नो करिब चारवर्षे कार्यकालमा नगरले हासिल गरेका उपलब्धि, सञ्चालन भएका विकास निर्माणका आयोजना तथा आगामी योजनाबारे जानकारी गराउँदै सीमित स्रोत–साधनका बाबजुद नगर विकासलाई तीव्रता दिइएको बताए। उनले संघ र प्रदेश सरकारबाट आवश्यक सहयोग, समन्वय तथा अधिकारको प्रभावकारी कार्यान्वयन हुन सके स्थानीय तह अझै सबल र संघीयता थप सुदृढ बन्ने धारणा व्यक्त गरे।
उपप्रमुख शाहले न्यायिक समितिमार्फत स्थानीय विवाद समाधान, मेलमिलाप र न्याय सम्पादनका क्षेत्रमा भएका उपलब्धिबारे जानकारी दिँदै न्यायिक प्रणालीलाई अझ प्रभावकारी, सहज र जनविश्वासिलो बनाउने आवश्यकता औंल्याइन्।
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले स्थानीय ऐन, कानुन तथा प्रशासनिक प्रक्रियालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै विकास योजनालाई जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरे। जनप्रतिनिधि र प्रशासनबीचको सहकार्यबाट मात्रै सुशासन र दिगो विकास सम्भव हुने उनको भनाइ थियो।
कार्यक्रममा सहभागी स्थानीयवासीहरूले नगरका जल्दाबल्दा समस्या, सेवा प्रवाहमा देखिएका चुनौती, पूर्वाधार विकास, सरसफाइ, शिक्षा तथा स्वास्थ्य सेवाका विषयमा प्रत्यक्ष प्रश्न राखेका थिए। जनप्रतिनिधिहरूले ती प्रश्नको जवाफ दिँदै आगामी दिनमा नागरिकका सुझावलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका थिए।
सार्वजनिक सुनुवाइ तथा संवाद एक्सप्रेस कार्यक्रमले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारबीचको समन्वयलाई कसरी अझ प्रभावकारी बनाउने, स्थानीय सरकारलाई थप बलियो बनाउने तथा जनअपेक्षा अनुसार सेवा प्रवाहलाई प्रभावकारी बनाउने भन्ने विषयमा सार्थक बहस सिर्जना गरेको सहभागीहरूको भनाइ थियो। उक्त कार्यक्रमको संचालन उमेश सुनारले गरेका थिए भने कार्यक्रमको प्रोडुसर प्रतिक श्रेष्ठ गर्दै आएका छन् कार्यक्रमले जनप्रतिनिधि र नागरिकबीच प्रत्यक्ष संवादको वातावरण निर्माण गर्नुका साथै उत्तरदायित्व र पारदर्शिता प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको आयोजक न्युज एक्सप्रेस प्रा लि का संचालक मिलन सिंहले जनाएका छन्।



प्रतिक्रिया