बागमती सरकारले गणतन्त्र दिवस ४ दिनसम्म मनाउने,मुख्यमन्त्रीकाे संयोजकत्वमा समिति गठन


हेटौँडा । बागमती प्रदेश सरकारले गणतन्त्र दिवस मनाउन मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको संयोजकत्वमा समिति गठन गरेको छ ।

जेठ १५ गतेको गणतन्त्र दिवसलाई विभिन्न रचनात्मक कार्यक्रमहरूका साथ मनाउन मुख्यमन्त्री बानियाँको संयोजनत्वमा ४३ सदस्यीय समिति गठन गरिएको हो ।

मुख्यमन्त्री बानियाँको अध्यक्षतामा जेठ ११ गते बसेको बैठकले गणतन्त्र दिवस ४ दिनसम्म विभिन्न कार्यक्रम सहित मनाउने निर्णय समेत गरेको छ ।

प्रदेशमा गणतन्त्र दिवसलाई व्यवस्थित बनाउन मुख्यमन्त्री बानियाँको अध्यक्षतामा ४३ सदस्यीय मूल समारोह समितिमा प्रदेश सभाका सभामुख, मन्त्रीहरू, विपक्षी दलका नेता, उपसभामुख, मुख्यन्यायाधिवक्ता, विभिन्न आयोगका पदाधिकारीहरू, सुरक्षा निकायका प्रमुखहरू र विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सदस्य रहेका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवलाई समितिको सदस्य सचिवको जिम्मेवारी दिइएको छ ।

बैठकले गणतन्त्र दिवस जेठ १३ गतेदेखि १६ गतेसम्म प्रदेशभर विभिन्न कार्यक्रमहरू आयोजना गर्ने निर्णय गरेको छ ।

बैठकले जेठ १४, १५ र १६ गते तीन दिनसम्म साँझ प्रदेशस्थित सबै सरकारी कार्यालयहरू, सार्वजनिक निकायहरू र आम नागरिकका घर-घरमा दीपावली गर्न आह्वान गर्ने निर्णय गरेको छ ।