‘ल्याङ्ग ल्याङ्ग’मार्फत युवा पुस्ताको कथा भन्दै बलिराम


काठमाडौं । निर्देशक बलिराम चौहानले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । गतवर्ष ‘द ब्ल्यू लाइट’ निर्देशन गरेका चौहानले चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’ निर्माणको घोषणा गरेका हुन् ।

निर्देशक चौहानले सोमबार थिम पोस्टरसहित टाइटल अनाउन्स गर्दै चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’ निर्माणको घोषणा गरेका हुन् ।  

स्काइफल पिक्चर्सको प्रस्तुति रहने चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’को स्लोगन ‘हरेक युवाको कथा’ राखिएको छ । यसले युवा पुस्ताको कथा भन्ने प्रस्ट पार्छ । ‘ल्याङ्ग ल्याङ्ग’ सामान्यतया युवा पुस्ताले आफ्नो साथी सर्कलमा प्रयोग गर्ने शब्द हो । यसको अर्थ ‘किचकिच’ अथवा एउटै कुरामा पटकपटक कर गर्ने वा दोहोर्‍याएर दिने तनाव हो ।

‘पालना गर्ने वाचा र बाँच्ने उद्देश्य : यो जीवनको लागि यति मात्र हो’ भन्ने वाक्यसहित निर्देशक चौहानले थिम पोस्टर सेयर गरेका छन् । थिम पोस्टरमा कुनै एक सहरको पार्कमा एउटा झोला, झोलामा हेडसेट, बाफ उडिरहेको कफी, कफीको बट्टामा लब साइन, छरिएका दुईटा डायरी र पेन । जिन्सको आउटर र कालो चस्मा र अलपत्र परेको बुके र सँगै रहेको गुड भाइब्स लेखिएको स्टिकर । तथा थिम पोस्टरमा रहेको ग्रे कलर । यी सबै कुराले अचानक प्रेममा धोका पाएको प्रेमीको कथा ‘ल्याङ्ग ल्याङ्ग’ले भन्ने संकेत गरेको छ ।

‘पालना गर्ने वाचा र बाँच्ने उद्देश्य : यो जीवनको लागि यति मात्र हो’ भन्ने निर्देशकको लाइनले पनि प्रेममा गरेको वाचा तोडेर गएको प्रेमिकाको कथा र त्यसको तनावमा रहेको प्रेमीको संकेत गर्छ ।

‘ल्याङ्ग ल्याङ्ग’को कथा बलिराम चौहान र उपश्री खतिवडाले लेखेका छन् । कलाकार, प्राविधिक, छायांकन, रिलिज डेटबारे निर्देशकले केही बोलेका छैनन् । निर्माता को हो भन्नेबारे पनि निर्देशकले केही बताएका छैनन् ।

बलिराम चौहानको गत वर्षको ‘द ब्ल्यू लाइट’ले राम्रो समीक्षा पाएको थियो । तर निर्वाचनको माहोलका कारण यो चलचित्र हल रिलिजको तेस्रो दिन नै निर्माण टिमले हलबाट निकालेको थियो ।