नाबालिकालाई यौनजन्य कार्य गराएको आरोपमा एक महिला कारागार चलान


काठमाडौँ । नाबालिकालाई ललाइफकाइ स्पामा काममा राखी यौनजन्य क्रियाकलापमा संलग्न गराएको आरोपमा एक महिला पुर्पक्षका लागि कारागार चलान भएकी छन्।

मानव बेचबिखन तथा ओसारपसार मुद्दाकी प्रतिवादी सङ्खुवासभाको चैनपुर नगरपालिका–७ घर भई हाल काठमाडौँको टोखा नगरपालिका–५ मा बस्ने ४८ वर्षीया अनिता भण्डारी सोमबार पुर्पक्षका लागि कारागार चलान भएकी हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार भण्डारीले टोखामा ‘स्पा पार्क’ सञ्चालन गर्दै आएकी थिइन्। जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले अनुगमन गर्ने क्रममा १६ वर्षकी एक नाबालिकालाई त्यहाँबाट उद्धार गरेको थियो। ती नाबालिकालाई ललाइफकाइ स्पामा काममा राखेर यौनजन्य क्रियाकलापमा संलग्न गराएको खुलेपछि प्रहरीले भण्डारीलाई पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान अगाडि बढाएको थियो।

उद्धार गरिएकी नाम परिवर्तित २६ परिसर (९८) की जाहेरीले दर्ता भएको उक्त मुद्दामा अदालतको आदेशअनुसार प्रतिवादी भण्डारीलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय भएको हो।