आज काठमाडौँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना


काठमाडौँ । आज देशका विभिन्न भागमा मिश्रित किसिमको मौसम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क अनुसार विशेषगरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा आज ‘तातो दिन’ हुनेछ। पश्चिम तराईका सहरहरूमा तापक्रम उच्च हुँदा देशका अन्य पहाडी तथा पूर्वी भेगमा भने मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।

तराईका प्रमुख सहरहरूमा आज दिउँसो अत्यधिक गर्मी महसुस हुनेछ। पूर्वानुमान अनुसार धनगढी र नेपालगञ्जको अधिकतम तापक्रम सबैभन्दा धेरै ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्नेछ। यसैगरी दिपायलमा ३८ देखि ४०, भैरहवामा ३७ देखि ३९, वीरेन्द्रनगरमा ३६ देखि ३८ र घोराहीमा ३५ देखि ३७ डिग्री सेल्सियस तापक्रम पुग्नेछ।

देशको सङ्घीय राजधानी काठमाडौँमा आज दिउँसो मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको ४० प्रतिशत सम्भावना रहेको छ, जहाँको अधिकतम तापक्रम २८ देखि ३० डिग्री सेल्सियस रहनेछ।

पर्यटकीय सहर पोखराका साथै ओखलढुङ्गा र ताप्लेजुङमा मध्यम वर्षाको सम्भावना सबैभन्दा बढी अर्थात् ६० प्रतिशत रहेको छ। डडेल्धुरा, जुम्ला, सिमरा, विराटनगर, जोमसोम, धरान र जनकपुरमा पनि दिउँसो मेघगर्जनसहित हल्का वर्षा हुने पूर्वानुमान गरिएको छ।