त्रिभुवन विमानस्थलमा अनिवार्य नेपाली वस्तुहरूको विक्री गर्ने व्यवस्था गर्न माग


काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद अनुश्का श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सबै पसलहरूमा अनिवार्य रूपमा नेपाली वस्तुहरूको विक्री वितरणका हुनेगरी आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छन् ।

मंगलवार प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै सांसद श्रेष्ठले सरकारले घरेलु तथा साना उद्योग र स्वदेशी वस्तुहरूको प्रवर्द्धनका लागि उक्त विमानस्थललाई उपयोग गर्नुपर्नेमा पनि जोड दिइन् ।

सांसद श्रेष्ठले भनिन् हाम्रो त्रिभुवन विमानस्थलमा नेपाल चिनाउने स्वाद, हस्तकला र मेड इन नेपालको उपस्थिति अझै कमजोर देखिन्छ । दैनिक हजारौँ यात्रु नेपालबाट प्रस्थान गरिरहँदा स्थानीय उत्पादनमा स्वाद बोकेर पठाउन सक्नु नेपालको पहिचान विश्वसामु पुर्याउने एक अवसर हो । म सरकार र टिआइए व्यवस्थालाई आग्रह गर्न चाहन्छु विमानस्थलका सबै पसल तथा टेन्डर प्रक्रियामा अनिवार्य रूपमा नेपाली उत्पादनका डेडिकेटेड सेक्सन व्यवस्था गरियोस् । विशेष गरी साना र स्वदेशी उद्यमीहरूलाई प्राथमिकता दिइयोस् । मेडइन नेपाललाई विश्वभर फैल्याउनका लागि यो कदम प्रभावकारी हुन सक्छ ।’