केप क्यानभेरल (फ्लोरिडा), १३ जेठ । नासाले आर्टेमिस–२ को ऐतिहासिक चन्द्र उडान अघि नै चन्द्रमामा आधार निर्माणका लागि आवश्यक ल्यान्डर, रोभर र ड्रोनहरूको पहिलो चरणको योजना सार्वजनिक गर्दै चार अमेरिकी कम्पनीलाई सयौँ करोड डलरका ठेक्का प्रदान गरेको छ ।
अमेरिकी अन्तरिक्ष एजेन्सीले मङ्गलबार सार्वजनिक गरेको योजनाअनुसार चन्द्र आधार विकासको प्रारम्भिक चरणमा चन्द्र सतहमा ल्यान्डर, रोभर र ड्रोन जस्ता उपकरणहरू पठाइनेछ, जसले भविष्यको मानव बसोबास र अनुसन्धानका लागि आधार तयार गर्नेछ ।
जेफ बेजोसको कम्पनी ब्लू ओरिजिनले चन्द्रमाको दक्षिणी ध्रुव नजिक ल्यान्डर उपलब्ध गराउनेछ, जसले चन्द्र सतहमा रोभरहरू पुर्याउने काम गर्नेछ । ती चन्द्र भू–सवारी साधनहरू एस्ट्रोल्याब र लुनार आउटपोस्ट कम्पनीहरूले निर्माण गर्नेछन् । यस्तै, गत वर्ष सफल अवतरण गरिसकेको फायरफ्लाई एरोस्पेसले चन्द्रमामा पहिलो ड्रोन पठाउने जिम्मेवारी पाएको छ ।
नासाका अनुसार यी सबै उपकरणहरू सन् २०२८ को सुरुआतमा प्रस्तावित पहिलो मानव अवतरणअघि नै चन्द्रमामा पुगिसक्नुपर्नेछ, जसले आर्टेमिस कार्यक्रमको मानव मिशनलाई आधार प्रदान गर्नेछ ।
यसै क्रममा गत अप्रिलमा सम्पन्न आर्टेमिस–२ मिसनमा चार अन्तरिक्ष यात्रीहरूले चन्द्रमाको परिक्रमा गर्दै ऐतिहासिक यात्रा गरेका थिए । यसलाई अपोलो युगपछिको सबैभन्दा गहिरो अन्तरिक्ष यात्रा मानिएको छ । आगामी आर्टेमिस–३ मिसनमा अन्तरिक्ष यात्रीहरूले चन्द्र कक्षामा अभ्यास गर्ने योजना रहेको छ, जहाँ ब्लू ओरिजिन र एलन मस्कको स्पेसएक्सले विकास गरिरहेका ल्यान्डरहरूसँग डकिङ अभ्यास गरिनेछ ।
नासाले सन् २०२७ को मध्यतिर आर्टेमिस–३ मिसन सञ्चालन गर्ने लक्ष्य राखेको छ भने सन् २०२८ सम्ममा चन्द्रमामा मानव अवतरण गराउने योजना अघि बढाएको छ । त्यसपछि सन् २०२९ देखि सन् २०३० को बीचमा चन्द्र आधारको दोस्रो चरण सुरु हुनेछ, जसमा पावर ग्रिडसहित प्रारम्भिक स्थायी पूर्वाधार निर्माण गरिनेछ । सन् २०३० को दशकमा तेस्रो चरणमा पुगेर दीर्घकालीन बसोबासका लागि आवास संरचना तयार गर्ने लक्ष्य राखिएको छ ।
नासाको चन्द्र आधार कार्यक्रमका कार्यकारी कार्लोस गार्सिया–गालानले भविष्यको संरचना सयौँ वर्गमाइल क्षेत्रमा फैलिने र ड्रोनहरूद्वारा यसको सीमाना चिह्न लगाइने बताए । ती ड्रोनहरूलाई ‘मुनफल’ नाम दिइनेछ, जसले चन्द्र आधारको परिधि निर्धारण गर्नेछ ।
नासाका प्रशासक जारेड आइज्याकम्यानले यस प्रणालीलाई अन्य अन्तरिक्ष मिशनहरूसँग समन्वयमा राखिने र अन्तर्राष्ट्रिय अन्तरिक्ष यान तथा उपकरणहरूको सम्मान गर्दै सञ्चालन गरिने बताए । उनले यस विषयमा पारस्परिक सहकार्य अपेक्षित रहेको पनि उल्लेख गरे ।
उनका अनुसार चन्द्र आधार केवल अनुसन्धानका लागि मात्र नभई भविष्यको मङ्गल अभियानको आधार निर्माण, वैज्ञानिक अनुसन्धान विस्तार र चन्द्र अर्थतन्त्रको विकासका लागि महत्त्वपूर्ण हुनेछ ।
“धैर्यपूर्वक प्रतीक्षा गरिरहेकाहरूका लागि यो भव्य पुनरागमन हो र हामी सुस्त हुने छैनौँ”, नासाका प्रशासक आइज्याकम्यानले भने, “हामी त अहिले मात्र सुरु गर्दैछौँ ।” रासस



प्रतिक्रिया