काठमाडौँ । मुस्लिम धर्मालम्बीहरुको महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिद तथा इदगाहमा हर्षोल्लासका साथ मनाइएको छ । पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरूले रमजान पर्व (इदुल फित्र) सम्पन्न भएको करिब ७० दिनपछि बकर इद मनाउने परम्परा रहिआएको छ ।
इस्लामिक पात्रोअनुसार १२औँ महिना दिल हिज्जाको १०औँ दिन यो पर्व मनाइन्छ । यस दिन मुस्लिम समुदायका मानिस बिहानै स्नान गरी नजिकैका मस्जिद तथा इदगाहमा पुगेर सामूहिक नमाज अदा गर्छन् । नमाजपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गर्ने चलन छ ।
बकर इदका अवसरमा मक्का–मदिना पुगेर हज गर्नु शुभ मानिन्छ । तर विभिन्न परिस्थितिका कारण विदेश यात्रा गर्न नपाएका धेरै श्रद्धालुले यस वर्ष घरमै बसेर पर्व मनाउने भएका छन् ।



प्रतिक्रिया