काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनका लागि उम्मेदवार बन्न चाहने व्यक्तिको वैवाहिक अवस्था, आर्थिक शुद्धता र आचरणसम्बन्धी मापदण्ड प्रस्ताव गरेको छ। पार्टीले तयार पारेको उम्मेदवार छनोटसम्बन्धी मापदण्डमा पारिवारिक तथा वैवाहिक अवस्थाको कानुनी वैधता स्पष्ट हुनुपर्ने व्यवस्था समेटिएको हो।
उम्मेदवारको योग्यता निर्धारणसम्बन्धी प्रस्तावित मापदण्डअनुसार उम्मेदवार बन्न इच्छुक व्यक्तिले आफ्नो पारिवारिक तथा वैवाहिक अवस्था कानुनी रूपमा पूर्ण वैध र स्पष्ट रहेको स्वघोषणा गर्नुपर्नेछ। साथै, यससम्बन्धी कुनै पनि विषय लुकाइएको वा विवादित नरहेको सुनिश्चित गर्नुपर्ने प्रावधान प्रस्ताव गरिएको छ।
त्यस्तै, उम्मेदवारको वित्तीय तथा आर्थिक शुद्धतालाई पनि छनोटको महत्त्वपूर्ण आधार बनाइएको छ। मिटरब्याज, सट्टेबाजी, हप्ता असुली, ढुकुटी, हुन्डा तथा सहकारी संस्थाको बचत अपचलनजस्ता अनौपचारिक र अवैध आर्थिक कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न नरहेको स्वघोषणा गर्नुपर्ने व्यवस्था मापदण्डमा राखिएको छ।
पार्टीले उम्मेदवारको व्यक्तिगत आचरण र व्यवहारलाई समेत प्राथमिकता दिएको छ। प्रस्तावित व्यवस्थाअनुसार घरेलु हिंसा, यौनजन्य दुर्व्यवहार तथा सार्वजनिक स्थानमा अमर्यादित व्यवहारमा संलग्न नरहेको व्यक्ति उम्मेदवार बन्न योग्य हुनुपर्नेछ।
यसैगरी, डिजिटल माध्यमको दुरुपयोगसम्बन्धी विषयलाई पनि मापदण्डमा समेटिएको छ। सामाजिक सञ्जालमार्फत साइबर बुलिङ, चरित्र हत्या, अनलाइन ठगी वा अन्य कुनै प्रकारका डिजिटल दुर्व्यवहारमा संलग्न नरहेको स्वघोषणा उम्मेदवारले गर्नुपर्ने प्रस्ताव गरिएको छ।
रास्वपाले प्रस्ताव गरेको यी व्यवस्थाले उम्मेदवारको कानुनी अवस्था, आर्थिक पारदर्शिता र व्यक्तिगत आचरणलाई छनोट प्रक्रियामा महत्त्व दिने देखिएको छ।




प्रतिक्रिया