स्वास्थ्य शिविरबाट छ सय जना लाभान्वित


म्याग्दी, १४ जेठ । जिल्लाको मालिका गाउँपालिका–६ दरवाङमा बुधबार सम्पन्न स्त्रीरोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट छ सय जनाभन्दा बढी लाभान्वित भएका छन् ।

‘मातृत्व जोगाउने अभियानअन्र्तगत’ विराट क्यान्सर अस्पताल र विराट मेडिकल कलेजको सहयोगमा दुई दिनसम्म सञ्चालन भएको शिविरमा ६१४ जनाले सेवा लिएका आयोजक ‘कल्प इमपावर उमेन नेपाल’ले जनाएको छ । पाठेघरको मुखको क्यान्सरका सम्भावित बिरामी पहिचान, स्त्रीरोगसम्बन्धी समस्या न्यूनीकरणका लागि जनचेतना वृद्धि र उपचारमा पहुँच बढाउने उद्देश्यले शिविर सञ्चालन गरिएको कल्पका अध्यक्ष पूजा कोइरालाले जानकारी दिए ।

उनका अनुसार शिविरमा पहिचान भएका पाठेघरको मुखको क्यान्सरको लक्षण देखिएका १५ जनालाई थप उपचारका लागि धवलागिरि प्रादेशिक अस्पतालमा रेफर गरिएको छ । क्यान्सररोग विशेषज्ञ डा विनोद अर्याल र स्त्रीरोग विशेषज्ञ बविता शाहको टोलीले स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणसम्बन्धी सेवा दिएका थिए ।

दरवाङ आधारभूत अस्पताल परिसरमा सञ्चालन भएको शिविरमा मालिकाको साथै मङ्गला र धवलागिरि गाउँपालिकाका महिलाले पनि सुविधा पाएका छन् । शिविरको संयोजन गरेकी मालिका गाउँपालिका–४ की शिला पुनले चेतना र शिक्षाको कमीका कारण रोग लुकाएर बसेका बिरामीको पहिचान गरी उपचारको दायरामा ल्याउने उद्देश्यले शिविर आयोजना गरेको बताइन् ।

बालविवाह र शारीरिक तथा मानसिक रुपमा परिपक्व नभएका किशोरी गर्भवती र सुत्केरी हुँदा स्त्रीरोगसम्बन्धी समस्या धेरै रहेको तर उनीहरू रोग लुकाएर बस्ने गरेका पुनले बताइन् । स्वास्थ्य शिविरअघि जेठ १० गते मालिका गाउँपालिकाको सात वडाका २७ किशोरी र युवतीलाई पाठेघरको मुखको क्यान्सरको कारण, समाधानका उपाय र उपचार विधिका विषयमा प्रशिक्षण दिइएको थियो । प्रशिक्षणमा सहभागी किशोरीले जेठ ११ गते बस्तीहरूमा पुगेर सचेतनामूलक कार्यक्रम गरेका थिए ।

तीस वर्षभन्दा कम उमेर समूहका नेपालका युवा महिलाले स्थापना गरेको कल्प संस्थाले सञ्चालन गरेको मातृत्व जोगाउने अभियानमार्फत हालसम्म २० हजार जनाभन्दा बढीले सेवा पाएका संस्थाले जनाएको छ । शिविर सञ्चालनका लागि मालिका गाउँपालिका र ‘जेके’ फाउन्डेसनले पनि सहयोग गरेका संस्थाका कार्यक्रम विकास प्रमुख सम्राट थापाले बताए । रासस