टोकियो,१४ जेठ । टोयोटाको जापानबाट मध्यपूर्वतर्फ हुने निर्यात अप्रिल महिनामा ९१.७ प्रतिशतले घटेको छ। जारी क्षेत्रीय द्वन्द्वका कारण व्यापारमा असर पर्दा निर्यात केवल दुई हजार ४१८ युनिटमा सीमित भएको कम्पनीले बिहीबार जनाएको छ।
कम्पनीका अनुसार अप्रिलमा टोयोटाको विश्वव्यापी बिक्री ३.१ प्रतिशतले घटेर ८लाख ४९हजार३०६ सवारीसाधनमा पुगेको छ। यससँगै लगातार तेस्रो महिनासम्म बिक्री घट्ने क्रम जारी रहेको छ। तर, विश्वव्यापी उत्पादन भने २ प्रतिशतले बढेर ८लाख३१ हजार९७१ युनिट पुगेको छ, जुन अप्रिल महिनाकै लागि रेकर्ड उच्च उत्पादन हो।
विदेशी बजारमा टोयोटाको बिक्री ७.५ प्रतिशतले घटेर ६लाख ९९हजार ३८२ युनिटमा झरेको छ। अमेरिकामा बिक्री ४.६ प्रतिशतले घटेर २लाख २२हजार३७८ युनिट पुगेको भने मध्यपूर्वमा बिक्री ३३.७ प्रतिशतले घटेर ३१हजार३६० युनिटमा सीमित भएको छ।
यता जापानभित्रको घरेलु बिक्री भने २४.२ प्रतिशतले बढेर १लाख४९हजार९२४ युनिट पुगेको कम्पनीले जनाएको छ। मार्च अन्त्यमा वातावरणीय प्रदर्शन कर हटाइने घोषणा भएपछि खरिद स्थगित गरेका उपभोक्ताहरू पुनः बजारमा फर्किएपछि बिक्री बढेको बताइएको छ।
उत्पादनतर्फ, टोयोटाको विदेशी उत्पादन ३.८ प्रतिशतले बढेर ५लाख६७हजार५७८ युनिट पुगेको छ भने जापानभित्रको उत्पादन १.७ प्रतिशतले घटेर २लाख६४हजार३९३ युनिटमा झरेको छ। रासस



प्रतिक्रिया