वासिङटन डीसी । वैज्ञानिकहरूले इक्वेडोर नजिक रहेको गालापागोस टापु क्षेत्रमा एउटा सानो अक्टोपसको प्रजाति पत्ता लगाएका छन् । यो प्राणी अत्यन्त सानो, नीलो र ठुला आँखासहितको देखिन्छ ।
जुन मानिसको हातको हत्केलामा सजिलै अट्न सक्छ । यो नयाँ प्रजातिलाई माइक्रोइलेडोन ग्यालापेजेन्सिस नाम दिइएको छ ।
सन् २०१५ मा समुद्रको सतहभन्दा करिब ५,८०० फिट गहिराइमा चलाइएको रिमोटली अपरेटेड अन्डरवाटर रोबोटले समुद्री तलछटमा यो सानो नीलो जीवको गतिविधि रेकर्ड गरेको थियो ।
अनुसन्धान टोलीका सदस्यहरूले यसलाई नरम खेलौनाजस्तै देखिने बताएका थिए । भिडियोमा एक सदस्यले ‘कति प्यारा सानो जीव’ भनेर आश्चर्य व्यक्त गरेको सुनिन्छ ।
अनुसन्धान प्रक्रिया किन ढिलो भयो ?
यो अनुसन्धान प्रक्रिया विभिन्न प्रशासनिक र प्राविधिक कारणले लामो समयसम्म रोकिएको थियो । उक्त जीव पोथी अक्टोपस भएको बताइएको छ । यसलाई पछि वैज्ञानिक अध्ययनका लागि सुरक्षित राखिएको थियो ।
यसलाई सन् २०२२ मा मात्र अमेरिकास्थित फिल्ड म्युजियममा पुर्याइयो । अक्टोपस फर्माल्डिहाइडमा संरक्षित गरेर राखिएको र अत्यन्त नाजुक अवस्थामा भएकोले अध्ययन गर्दा सुरुमा अत्यधिक सावधानी अपनाइएको थियो ।
पछि अनुसन्धानकर्ताहरूले अत्याधुनिक सीटी स्क्यान प्रविधि प्रयोग गरे । हजारौँ एक्सरे छविहरू मिलाएर उक्त अक्टोपसको थ्रीडी मोडेल तयार पारे । यसले वैज्ञानिकहरूलाई यसको शरीर संरचना र विकासक्रम निर्धारण गर्न सहयोग गर्यो ।
अनुसन्धानका अनुसार यो प्रजाति पहिले कुनै पनि ज्ञात अक्टोपस प्रजातिसँग मेल नखाने नयाँ वर्गमा रहेको छ । यो खोज समुद्री जैविक विविधता बुझ्नका लागि महत्वपूर्ण मानिएको छ । एजेन्सी



प्रतिक्रिया