घरबेटीको करेसाबारीमा ३१ दिने शिशुलाई गाडेर हत्या


काठमाडौं, जेठ १४ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा एक आमाले आफ्नै ३१ दिने शिशुलाई खाडलमा गाडेर हत्या गरेकी छन्। शुक्लागण्डकी–३ स्थित सिद्धार्थ टोलमा डेरा गरी बस्ने ३७ वर्षीया मैना थापाले आफ्नै छोरीलाई जीवितै खाडलमा पुरेकी हुन्।

स्याङ्जाको पुतलीबजार नगरपालिका घर भएकी थापाले बिहीबार दिउँसो घरबेटीको करेसाबारीमा खाडल खनी शिशुलाई पुरेको अवस्थामा उनका श्रीमान् गोपाल थापाले फेला पारेका थिए।

श्रीमान्ले तत्कालै शिशुलाई खाडलबाट निकालेर उपचारका लागि तनहुँ सेवा अस्पताल, दुलेगौँडा पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार आरोपित महिला लामो समयदेखि ‘डिप्रेसन’ को औषधि सेवन गरिरहेकी थिइन्। ३१ दिनकी शिशु प्रिन्सिका थापालाई अस्पतालले साँझ ५:४५ बजे मृत घोषणा गरेलगत्तै इलाका प्रहरी कार्यालय बेलचौताराको टोलीले आमालाई नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय बेलचौताराका अनुसार १० जनाको प्रहरी टोली घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको छ। ३६ वर्षीय श्रीमान् गोपाल थापाले घटना देखेपछि शिशुलाई बचाउने प्रयास गरे पनि सफल हुन सकेनन्।

अस्पतालबाट सूचना प्राप्त हुनासाथ आरोपित महिलालाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। शिशुको शव परीक्षण र घटनाको विस्तृत विवरणका लागि प्रहरीले कानुनी प्रक्रिया सुरु गरिसकेको छ।