काठमाडौँ, १७ जेठ । बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपालले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शुक्रबार प्रस्तुत गरेको बजेटको स्वागत गरेको छ ।
आज एक विज्ञप्ति जारी गर्दै परिसङ्घले बजेटमार्फत आर्थिक पुनरुत्थान, निजी क्षेत्रको मनोबल अभिवृद्धि, लगानी प्रवर्द्धन तथा उत्पादनमुखी अर्थतन्त्र निर्माणको दिशामा अघि सारिएका नीतिगत तथा संरचनागत सुधारका पहलको स्वागत गरेको हो ।
बैङ्किङ क्षेत्रबाट अपेक्षित कर्जा विस्तार हुन नसकेको अवस्था, बढ्दो खराब कर्जाको चुनौतीबाट प्रभावित हुँदै आएको अवस्थामा आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्र र आर्थिक गतिविधिलाई पुनः चलायमान बनाउने आशा र विश्वासको नयाँ आधार सृजना गरेको परिसङ्घको ठहर छ ।
विशेषगरी कर प्रणालीमा गरिएको सुधार, उद्योग–व्यवसायलाई प्रदान गरिएका सहुलियत, ‘डिजिटल’ अर्थतन्त्रको प्रवर्द्धन, प्रविधि एवं पूर्वाधार विकासमा प्राथमिकता, ऊर्जा क्षेत्रको विकासमा जोड दिएकाले बजेटले लगानीमैत्री वातावरण सृजना गरेको विज्ञप्तिमा उल्लेख छ ।
“आगामी आवको बजेटले निजी क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख साझेदार र संवाहकका रूपमा आत्मसात् गर्दै लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा वित्तीय पहुँच विस्तारलाई प्राथमिकतामा राखेको स्पष्ट देखिन्छ”, परिसङ्घले भनेको छ ।
व्यक्तिगत आयकरमा छुटको सीमामा वृद्धि, करको दरमा पुनरावलोकन, औद्योगिक कच्चापदार्थमा भन्सार सहजीकरण तथा वैकल्पिक वित्तीय उपकरणमार्फत पुँजी परिचालनका व्यवस्थाहरूले समग्र आर्थिक गतिविधिहरूमा सकारात्मक ऊर्जा सञ्चार गर्ने परिसङ्घले विश्वास गरेको छ । रासस



प्रतिक्रिया