नयाँ ओमोडा ई–५ प्रो सार्वजनिक,चालकका लागि मसाज सिटसहित क‍े-के छ अरु सुविधा ?


काठमाडौं । आइतबार (आज) राजधानीमा एक कार्यक्रमकाे आयाेजना गर्दै शारडा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल्सले नयाँ विद्युतीय सवारीसाधन ओमोडा ई–५ प्रो सार्वजनिक गरेको छ । सार्वजनिक गरिएकाे कार्यक्रममा शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडा, निर्देशक गौरव शारडा र नायिका रेखा थापा लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । 

कम्पनीका अनुसार नयाँ ओमोडा ई–५ प्रोमा ५०.७ किलोवाट-घण्टा क्षमताको ब्याट्री, ९९ किलोवाटको विद्युतीय मोटर र २८८ न्युटन मिटर टर्क रहेको छ। यसले एकपटक चार्ज गर्दा ३५० किलोमिटरसम्म यात्रा गर्न सकिने कम्पनीले जनाएको छ ।

नेपालका विभिन्न सडक अवस्थालाई ध्यानमा राखेर निर्माण गरिएको उक्त गाडीमा १९१ मिलिमिटर ग्राउन्ड क्लियरेन्स तथा १८ इन्चका मिश्रधातुका पाङ्ग्रा जडान गरिएको कम्पनीले उल्लेख गरेको छ ।

चालकका लागि मसाज सिट, आठवटा सोनी ध्वनि प्रणाली, र १५.६ इन्चको ठूलो स्पर्शयोग्य सूचना तथा मनोरञ्जन प्रदर्शन प्रणाली उपलब्ध गराइएको छ। सुरक्षाका दृष्टिले गाडीमा १९ भन्दा बढी उन्नत चालक सहायता प्रणाली, ५४० डिग्री दृश्य दिने क्यामेरा प्रणाली तथा अन्य आधुनिक सुरक्षा सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ।

नयाँ ओमोडा ई–५ प्रोको एकरङ्गीको मूल्य ५१ लाख ५९ हजार रुपैयाँ र दुईरङ्गी संस्करणको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ।

सार्वजनिक भएको अवसरमा कम्पनीले पहिलो ५० ग्राहकका लागि ४९ लाख १९ हजार रुपैयाँमै उपलब्ध गराउने बताइएको छ । साथै, एक वर्षको निःशुल्क सवारी बीमा सुविधा पनि प्रदान गरिने जनाइएकाे छ ।

कम्पनीका अनुसार नयाँ ओमोडा ई–५ प्रो देशभर रहेका आधिकारिक शोरुमहरूमा बुकिङ खुला गरिएको छ ।