गाजा, १७ जेठ । युद्ध र रोगको दोहोरो पीडाबाट गुज्रिरहेका गाजाका क्यान्सरपीडित बालबालिकाका लागि शनिबार केही समय खुसी र मनोरञ्जनको वातावरण सिर्जना गरिएको छ । गाजा सहरस्थित अल–रन्तिसी बाल अस्पतालमा स्वयंसेवकहरूले खेलकुद, चित्रकला, अनुहार रङ्ग्याउने तथा विभिन्न मनोरञ्जनात्मक गतिविधि सञ्चालन गर्दै बालबालिकालाई मानसिक राहत प्रदान गर्ने प्रयास गरेका हुन् ।
यो कार्यक्रम गाजावासीका लागि राहत कार्यमा संलग्न इजिप्टेली सहयोग समितिका मनोसामाजिक सहयोग तथा मनोरञ्जन टोलीद्वारा आयोजना गरिएको थियो । कार्यक्रममा सहभागी बालबालिकाले खेल खेल्नुका साथै गीत, नृत्य र सिर्जनात्मक गतिविधिमार्फत केही समयका लागि रोग र युद्धको तनाव बिर्सने अवसर पाए ।
कार्यक्रममा जोकरको भूमिकामा रहेका स्वयंसेवक सुलेमान अबुदले युद्धका कारण गाजाका बालबालिकाले असाधारण कठिनाइ र त्रास भोग्नुपरेको बताए । उनका अनुसार यस्ता बालबालिकालाई उपचार मात्र नभई मानसिक र सामाजिक सहयोग पनि अत्यन्त आवश्यक छ । खेल्न, हाँस्न र आफ्ना भावना व्यक्त गर्न पाउनु उनीहरूको मानसिक स्वास्थ्यका लागि महत्वपूर्ण हुने उनले उल्लेख गरे ।
बालबालिकाका अभिभावकहरूले पनि यस पहलको प्रशंसा गरेका छन् । क्यान्सर उपचार गराइरहेका एक बालकका अभिभावक इहसान अब्दुल आलले यस्ता कार्यक्रमले बालबालिकालाई केही समयका लागि भए पनि अस्पताल, उपचार र रोगको वातावरणबाट टाढा लैजान मद्दत गर्ने बताए।
युद्धका कारण विस्थापित राफिफ अबु ओदाले आफ्नी १२ वर्षीया छोरी समाहलाई महिनौँपछि यति धेरै खुसी देखेको बताए । समाहले स्वयंसेवकहरूसँग गीत गाउन र नाच्न पाउँदा आफू बिरामी भए पनि निकै रमाएको प्रतिक्रिया दिएको छ ।
यो कार्यक्रम गाजामा बढ्दो मानसिक स्वास्थ्य संकटका बीच आयोजना गरिएको हो । दुई वर्षभन्दा लामो समयदेखि जारी द्वन्द्वका कारण त्यहाँका बालबालिका तथा सर्वसाधारण गम्भीर मानसिक तनावको सामना गरिरहेका छन् ।
गाजाको मानसिक स्वास्थ्य अस्पतालका निर्देशक अब्दुल्लाह अल–जमालले अवस्थालाई अत्यन्त गम्भीर र चिन्ताजनक बताएको छ । उनका अनुसार द्वन्द्वका क्रममा गाजाको एकमात्र मानसिक स्वास्थ्य अस्पताल ध्वस्त भएको छ भने औषधि र विशेषज्ञ चिकित्सकको अभावले उपचार सेवा झन् कठिन बनेको छ । क्यान्सरबाट पीडित धेरै बालबालिकाले समयमै रोग पहिचान र उपचारसमेत पाउन नसकेको उनले जानकारी दिए ।
अस्पतालहरूमा भएको क्षति र अत्यावश्यक औषधिको अभावका कारण धेरै बालरोगीहरू किमोथेरापी, स्वास्थ्य परीक्षण तथा आधारभूत उपचार सेवाबाट वञ्चित भएका छन् । यसले सामान्य उपचारबाट निको हुन सक्ने अवस्थासमेत दुःखद परिणामतर्फ धकेलिरहेको बताइएको छ ।
संयुक्त राष्ट्रसंघका अनुसार गाजामा ११ हजारभन्दा बढी क्यान्सरपीडित बिरामीलाई आवश्यक उपचार उपलब्ध गराउन अन्यत्र स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको छ ।
विज्ञहरूका अनुसार यस्ता मनोरञ्जनात्मक गतिविधिले गाजाको समग्र मानवीय संकट समाधान गर्न नसके पनि बालबालिकामा देखिएको मानसिक तनाव कम गर्न र उनीहरूलाई केही समयका लागि राहत तथा आनन्दको अनुभूति गराउन महत्वपूर्ण भूमिका खेल्न सक्छन् । रासस



प्रतिक्रिया