इनमसँग जोडिएका न्यायाधीशबारे तथ्य संकलन गर्न बारले बनायो समिति


काठमाडौं । नेपाल बार एशोसिएसनले इनम सापकोटाको ह्वाट्सएप म्यासेज प्रकरणमा नाम जोडिएका न्यायाधीशहरूबारे तथ्य संकलन गरी प्रतिवेदन तयार गर्न समिति गठन गरेको छ।

एशोसिएसनले पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठको संयोजकत्वमा छ सदस्यीय समिति बनाएको हो।

समितिमा वरिष्ठ अधिवक्ताहरू पूर्णमान शाक्य, उषा मल्ल पाठक, सुरेन्द्रकुमार महतो, चन्द्रप्रसाद काफ्ले र अधिवक्ता बाबुराम अर्याल सदस्य छन्। अर्याललाई सदस्य सचिवको जिम्मेवारीसमेत दिइएको छ।

समितिले एक महिनाभित्र प्रतिवेदन बुझाउनुपर्नेछ। आगामी मंसिर २५ गते धनगढीमा हुने बारको केन्द्रीय कार्यकारिणी परिषद् बैठकअघि नै प्रतिवेदन पेस गर्ने समयसीमा तोकिएको छ।