काठमाडौं । नेकपा (एमाले) प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेपाली जनतासँग माफी माग्नुपर्ने बताएको छ ।
महासचिव शंकर पोखरेलले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भनाइ गैरजिम्मेवार, ऐतिहासिक तथ्यविपरीत र राष्ट्रहित प्रतिकूल रहेको बताएका हुन् ।
जेठ १७ गते आइतबार संसद्मा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहलेु ‘नेपालले पनि भारतको सीमा धेरै ठाउँमा मिचेको रहेछ’ भनी दिएको अभिव्यक्तिले देशको स्थापित अडान र कूटनीतिक दाबीलाई गम्भीर रूपमा कमजोर बनाएको एमालेको आरोप छ।
‘प्रधानमन्त्री वालेन्द्र शाहको उक्त गैरजिम्मेवार अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै राष्ट्रिय हित, सार्वभौमसत्ता र भौगोलिक अखण्डतासम्बन्धी विषयमा सरकारलाई स्पष्ट, तथ्यपरक र जिम्मेवार ढंगले प्रस्तुत हुन जोडदार माग गर्दछ । नेपालको एक इन्च भूमि पनि कसैलाई छोड्न नसकिने अडानमा सिंगो देश अडिग छ’, विज्ञप्तिमा भनिएको छ ।
एमालेले भनेको छ ‘नेपाल-भारतबीच लिम्पियाधुरा, कालापानी, लिपुलेक तथा सुस्तासहित विभिन्न ७१ स्थानमा सीमा समस्या रहेको तथ्य सरकारी अभिलेखमै प्रस्ट छ । यस्ता विवादहरूको समाधान ऐतिहासिक तथ्य, प्रमाण, कूटनीतिक संवाद र अन्तर्राष्ट्रिय मान्यताका आधारमा हुनुपर्नेमा, आफ्नो कमजोरी लुकाउन ‘नेपालले पनि सीमा मिचेको छ’ भन्नु राष्ट्रिय हितमाथिको ठूलो कुठाराघात हो । खेती कमाइ वा नदीले धार परिवर्तन गर्दा हुने प्राविधिक क्रस होल्डिङलाई राज्यस्तरबाट भएको रणनीतिक भूमि अतिक्रमणसँग तुलना गर्नै मिल्दैन ।





प्रतिक्रिया