सङ्कल्प र लगनले चुम्दै सफलता


महोत्तरी, १९ जेठ । साहुले ऋण नपत्याउँदा विदेश जान नपाएर तरकारीखेतीमा लागेका महोत्तरीका किसान अहिले प्रेरक व्यक्तिको उदाहरणका रूपमा उभ्याइने गरिन्छ । ‘गरे के हुँदैन ?’ भन्ने आहान महोत्तरीको भङ्गाहा–४ रामनगरका किसान सत्यदेव महतोले सङ्कल्प र लगनले चरितार्थ गरेको छ । झन्डै १६/१७ वर्षअघि तरकारीखेतीमा जोडिनुभएका महतोलाई अहिले न फुर्सद छ, न पछाडि फर्कनुपरेको छ । केही गर्ने हुटहुटी, सङ्कल्प र लगनले नै उहाँलाई यो सफलता प्राप्त भएको हो ।

करिब एक बिघा (२० कट्ठा) जग्गामध्ये १५ कट्ठामा तरकारीखेती गरेका महतोको बारीमा परवल लहलहाएको छ । खुर्सानीका बोट पूmल र चिचिलाले झपक्क छन् । त्यसैगरी काँक्रा, बोडी, घिरौला, झिगुनी, लौका र फर्सीका लहरामा आँख्लैपिच्छे फल लागेका छन् । सबैभन्दा रहरलाग्दो त उनको करेलाखेती छ । महतोले बर्सेनि पाँच÷छ कट्ठामा करेलाखेती गर्दै आएको छ । मुख्य सडक छेउकै बारीमा रहेको उनको बारीको मचानमा परैबाट लटरम्म देखिने करेला हेर्न बटुवा पुग्छन् ।

तरकारीखेतीमा जम्मिएका महतोको विशेष पहिचान भने करेलाले नै बनाएको छ । वर्षभरिमा फरकफरक मौसम (सिजन)मा गरेर पाँच÷छ कट्ठा करेलाखेती गर्दै आएका उनको करेलाखेती सडकबाटै देखिने हुँदा बटुवाका लागि यो प्रदर्शनीजस्तै बनेको बर्दिबास–२ बारनचौडीका उमेश आचार्य बताउँछन् ।

“करेलाखेती त अन्त पनि भएकै छ, तर सतो (सत्यदेवको बोलाउने नाउँ)को खेती हेरेपछि मन दङ्ग हुन्छ”, महतोको करेला बारी पुगेका आचार्य भन्छन् । भङ्गाहा र वरपर छरछिमेकका बस्तीमा तरकारीखेतीको कुरा चल्यो कि त्यहाँ सत्यदेवको कुरा उप्किहाल्छ । महतोले मौसमअनुसारको बोडी, खुर्सानी, काँक्रा, परबल, झिगुनी, लौका, फर्सी, घिरौला र ओलसहितका तरकारी लगाउनु भए पनि उनलाई चिन्नेले करेलाकै नामबाट उभ्याउँछन् ।

दाजुभाइबीच अंशवण्डा भएपछि कमाउन कतार जाने सोचले राहदानी बनाएका महतो कतै ऋण नपाएपछि विलखबन्द परेका थिए । अब बाँच्न तरकारीखेतीमा लाग्छु भनेर काम थालेका उनले त्यसयता कहिल्यै पछाडि फर्कनुपरेको छैन ।

“आफूसँग भएको करिब एक बिघाजति जग्गामध्ये १५ कट्ठामा तरकारीखेती गर्छु”, महतो भन्छन्, “यसले मलाई सधैँ काममा अघि बढ्न हौसला दिएको छ ।” तरकारीखेती थालेपछि दुईचार पैसाका लागि कसैसँग हात थाप्नु नपरेको र उल्टै छरछिमेकको आपत्विपद्मा सरसहयोग गर्न पाउँदा सन्तोष मिल्ने गरेको उनी बताउँछन् ।

पाँच कट्ठाको अन्नबाली (धान, गहुँ)ले खाने अन्न र १५ कट्ठा तरकारीखेतीले बर्सेनि १०–१२ लाख नगदको जोहो भएपछि त्यतिखेर विदेश जान ऋण नपाएर ठिकै भएछ भन्ने लाग्ने गरेको उनले बताए । “मेरो करेलाखेतीले मान्छेको मन तानेको छ, मलाई नाउँ नजान्नेले त ‘करेलावाला’ नै भन्ने गरेका छन्”, उनी भन्छन्, “यसले कमाइ पनि राम्रै दिएको छ । अरुभन्दा करेलामा बढी रेखदेख र स्याहार पुर्याउन पर्ने हुँदा सबैले यो खेती गर्दैनन्”, उनी भन्छन्, “मैलेचाहिँ बर्सेनि गर्दै आएको छु ।” लागत र रेखदेख बढी गर्न परे पनि अन्य तरकारीको तुलनामा करेलाको भाउ सधैँ उच्च हुँदा कहिल्यै हरेस खान नपरेको उनको अनुभव छ ।

बाह्रैमास उत्पादन लिन सकिने करेला राम्रो जातको पर्दा रोपेको ५० दिनमै उत्पादन दिन थाल्ने महतोले बताए । माया, राजधानी, विजेता र इण्डो–अमेरिकी जातका करेलाको खेती बढी हुने गरेको उनको भनाइ छ । “मचाहिँ बर्सेनि बारी फेरेर माया जातको करेला लगाउँछु”, महतोले भने । माया चाँडै फुल्ने, फल लाग्ने, रोगको प्रकोप कम हुने र लामो र ठूलो आकारको हुँदा ग्राहकको रोजाइमा पर्ने गरेको उनको अनुभव छ । “२०० ग्राम त सरदरकै हुन्छ, मेरो बारीमा एउटा करेला ३०० ग्रामसम्मको बाक्लै फलेको छ । करेलाखेतीले आफूलाई चिनाएको र आर्जन पनि राम्रै लिइएको उनी बताउँछन् ।

आपूm खेतीमा जमेपछि विदेश जान तरखर गरेका आफ्ना पुस्ताका साथीलाई तरकारीखेतीमै डोहोर्याएको उनी सगर्व बताउँछन् । आफ्नै देखासिकी र प्रेरणाले बस्तीका पाँचसात जना विदेश जान त्यागेर तरकारीखेतीमा जमेका उनले नाम कमाए । पैसो नपाएर विदेश जान नपाएका साथीलाई यही काम गरे कमाइ हुन्छ भनेर हौसला दिँदै बेलामौकाको सहयोग गरेपछि पाँचसात जना अब तरकारीखेतीमै राम्ररी जमेका महतोको भनाइ छ ।

“मैले अब यतै काममा लाग, खेतीमा म पनि सघाउँछु भने, पाँचसात जना लागे, राम्रै गरेका छन्”, ३६ वर्षीय महतोकै सङ्गतले तरकारीखेतीमा पसेका सो बस्तीकै उनका समवयी उपेन्द्र यादव, हसन कवारी, चन्देश्वर राय दनुवार र सरोज महतो पनि अहिले अब्बल किसानमा दरिएको छ ।

तरकारीखेतीमा लागेर सफल किसान दरिएका सत्यदेव, हसन, उपेन्द्र, सरोज र चन्देश्वरसहितका समवयीका खेतीमा भोगिएका समस्या समान छन् । “भरपर्दो सिँचाइ छैन, चाहिएको ठिक्क बेला बीउबिजन, मल, औषधि पाइँदैन”, हसन भन्छन्, “तीन तहका सरकार छन् भन्छन्, हामीलाई के समस्या छ भनेर सोध्नसम्म पनि कोही आउँदैनन् ।” सबैभन्दा बढी समस्या भरपर्दो बीउमा पर्ने गरेको किसानको अनुभव छ । ठिक्क बेलामा बीउ, मल, सिँचाइ नपाएरै खेतीको समय नाघ्ने गरेको तीतो अनुभव यी किसानले सँगालेका छन् ।

“बीउ भारतीय बजारकै भर हो, कहिले त राम्रै पर्छ, कहिले भने ठगिएका छौँ”, महतो भन्छन्, “हाम्रा सरकारी निकायले पायक पर्ने ठाउँमा राम्रो बीउ किन्न दिए ठूलो राहत हुन्थ्यो”, त्यसैगरी कृषि प्राविधिकको सरसल्लाह र अनुगमन नहुँदा आवश्यक उपचार नपाएर मुखको बालीबाट हात धुनुपरेको विगत अनुभवले किसानी पेसा दुख्याहा कर्म नै रहेछ भन्ने धेरैलाई परेको छ । किसानलाई बीउ, मल, सिँचाइ, प्राविधिक सल्लाह र बजारको सुव्यवस्था हुनसके खेतीले राम्रो कमाइ गर्न सकिने यी किसानको ठम्याइ छ । –गोपालप्रसाद बराल/रासस