सुधन गुरुङमाथि छानबिन गर्न पाँच दिनको म्याद थपियाे


काठमाडौं । पूर्व गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न थप पाँच दिनको समय थपिएको छ ।

आज मंगलबारदेखि लागु हुनेगरी पाँच दिनको समय थप गरिएको हो ।

गुरुङसँग बयान भने लिइसकेको छानबिन समितिका अध्यक्ष अच्युतमप्रसाद भण्डारीले बताए । बयान लिनुअघि समितिले उनीमाथि लागेका आरोपबारे सम्बन्धित क्षेत्रसँग बुझ्नेदेखि सम्पत्ति विवरण केलाएर अध्ययन गरेको बताएको छ ।

मन्त्रिपरिषद्को २८ वैशाखको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहने गरी गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको थियो ।

समितिलाई दिइएको १५ दिनको समय दिइएको थियो । उक्त समय हिजो सोमबार सकिएको थियो । हिरासतमा रहेका व्यवसायी दीपक भट्टसँग साझेदारी र सम्पत्ति विवरणमा सेयर लुकाएको आरोप लागेपछि गुरुङले ९ वैशाखमा राजीनामा दिएका थिए ।