उपेक्षामा आँखाको हेरचाह


काठमाडौँ, २० जेठ । सर्वविदितै छ, जीवनमा आँखाको महत्व अवर्णनीय छ । जीवन र जगत् देख्नका लागि अत्यावश्यक आँखाको हाम्रो जीवनमा सर्वोपरि महत्व छ ।

आँखा अत्यन्त सम्वेदनशील अङ्ग पनि हो, यसको हेरचाह र रक्षाका सन्दर्भमा उच्च सम्वेदनशीलता अपनाउन आवश्यक छ । पछिल्लो समय साना बालबालिकादेखि वयस्क र वृद्धावस्थाका मानिसले मोबाइल, कम्प्युटर र टिभीको प्रयोग अधिक गरेसँगै आँखामा अनेक समस्या आउने गरेको छ । उद्योग, कलकारखाना, कृषिलगायत विभिन्न क्षेत्रमा काम गर्ने व्यक्ति तथा खेलाडीले आँखामा हुने चोटपटकको समयमै आवश्यक सावधानी र उपचार नगर्दा जीवनभर अन्धकारमा बस्नुपर्ने हुन्छ । कतिपय रोगका बिरामीले पनि आँखाको स्वास्थ्यमा ध्यान दिनुपर्ने हुन्छ ।

यी विभिन्न अवस्थामा कसरी आँखालाई सुरक्षित र दृष्टि शक्तिलाई कायमै राख्न सकिन्छ भन्नेबारेमा यसलेखमा केही सावधानीका उपायका बारेमा उल्लेख गरिएको छ । लामो समयसम्म मोबाइल, कम्प्युटर र टिभीको स्क्रिन हेर्दा आँखा थाक्ने, पोल्ने र टाउको दुख्ने समस्या हुने हुँदा २०–२०–२० नियम अपनाउन सकिन्छ अर्थात् हरेक २० मिनेट, २० फिट टाढाको वस्तु २० सेकेन्डका लागि हेर्ने बानी बसाल्न सकिन्छ । साथै, स्क्रिन आँखाबाट एकहात टाढा राख्ने, धेरै चम्किलो स्क्रिन प्रयोग नगर्ने, अँध्यारोमा मोबाइल प्रयोग गर्नुहुँदैन । त्यस्तै घाम, धुलो र धुवाँबाट जोगिनुपर्छ, घाममा निस्कँदा धुप चस्मा वा टोपी लगाउँदा आँखालाई दबाब पर्दैन । फलाम वेल्डिङको उज्यालो र घामलाई नाङ्गो आँखाले हर्दा पनि आँखाको दृश्य शक्ति ह्रास हुन्छ ।

धुलो हुने ठाउँमा काम गर्नुपर्दा आँखाको सुरक्षाका लागि सुरक्षात्मक चस्मा लगाउनुपर्ने हुन्छ । सामान्यतः दिनमा एक–दुई पटक सफा पानीले अनुहार र आँखा पखाल्ने बानीले आँखामा धुलो, धुवाँको सङ्क्रमण हुन पाउँदैन । आँखा पोल्यो वा धुलो प¥यो भने धेरैले हात वा अन्य कुनै वस्तुले मिच्ने वा घोट्ने गर्छन् । यसो गर्नु हुँदैन, सफा पानीले विस्तारै पखाल्नुपर्छ । सफा पानीले सफा हात वा नरम कपडाले आँखा सफा गर्नुपर्छ । पढ्दा वा लेख्दा सही बत्ती प्रयोग गरिएमा आँखालाई बोझ पर्दैन । धेरै तेज वा धमिलो नभएको बत्तीमा पढ्दा वा लेख्दा पर्याप्त प्रकाश हुनुपर्छ । सुतिरहेका अवस्थामा वा सवारीसाधन हिँड्दा पढ्न वा मोबाइल चलाउने राम्रो होइन । आँखा थाकेपछि आराम दिनुपर्छ । आँखालाई आराम दिन दैनिक सात–आठ घण्टा सुत्नुपर्छ । लामो समय काम गरेपछि केही मिनेटका लागि आँखालाई बन्द गरेर विश्राम दिनुपर्छ ।

आँखाको स्वास्थ्यका लागि केही गलत बानी त्याग्नुपर्छ । अन्य स्वास्थ्यको जस्तै आँखाको स्वास्थ्यका लागि पनि धुमपानको आदत हुनुहुँदैन । यसले आँखाको नसामा असर गर्छ । रक्सीको सेवनले आँखालाई सुक्खा र कमजोर बनाउने हुँदा यसबाट टाढै बस्नु राम्रो हुन्छ । आँखा बिझाउने वा पोल्नेबित्तिकै डाक्टरको सल्लाहबिना नै आइ–ड्रपलगायत आँखाको औषधि प्रयोग गर्नुहुँदैन ।

आँखाको स्वास्थ्यका लागि दुई वर्षमा एकपटक परीक्षण आँखाको जाँच गराउने गर्नुपर्छ । दृप्टि धमिलो देखिएमा, आँखा दुखेमा, रातोपन बढेमा वा पानी आउने गरेमा, राति देख्न गाह्रो भएमा, दृष्टि अचानक घटेमा तुरुन्तै नेत्र चिकित्सक कहाँ जानुपर्छ । चस्मा वा लेन्स प्र्रयोग गर्दा सामान्य ध्यान नदिँदा पनि समस्या आउने गर्दछ । चस्मा प्रयोगकर्ताले सधैँ सफा कपडाले पुछ्नुपर्छ भने अरुको चस्मा वा लेन्स प्रयोग गर्नुहुँदैन । अभिभावकले बालबालिकाको आँखाको हेरचाहमा विशेष ध्यान दिन आवश्यक हुन्छ ।

बालबालिकाको आँखाको स्वास्थ्य

बालबालिकालाई गाजर सागपात, अण्डा, दूध, आँप, कागती, गोलभेँडा, माछाजस्ता स्वस्थ खाना खुवाउनुका साथै पर्याप्त पानी पिउन प्रेरित गर्नुपर्छ । भिटामिन ए, सी र ई युक्त खानेकुराले आँखालाई बलियो र स्वस्थ राख्न मद्दत गर्छ । उनीहरुलाई धेरैबेर मोबाइल वा टिभी हेर्न दिनु हुँदैन, यसले आँखा पोल्ने, थाक्ने र टाउको दुख्ने समस्या आँउछ । बच्चालाई २०–२०–२० नियम अर्थात् हरेक २० मिनेटमा २० फिट टाढाको वस्तु २० सेकेन्ड हेर्ने बानी लगाउनुपर्छ । स्क्रिन धेरै नजिक राख्न र अध्याँरोमा मोबाइल चलाउन दिनुहुँदैन । बच्चाको आँखालाई धुलो र घामबाट बचाउन बाहिर खेल्दा टोपी वा धुप चस्मा लगाइदिने, धुलो वा धुवाँ हुने ठाउँमा लामो समय खेल्न नदिने, बच्चालाई आँखामा धुलो वा किरा आँखामा परेमा मिच्न सिकाउनु हुँदैन । जथाभावी आँखा मिच्दा आँखामा सङक्रमण हुनसक्छ । साबुनपानीले हात धुन सिकाउने, सफा पानीले आँखा पखाल्न लगाउनुपर्छ ।

साथै, अरूसँग रुमाल, टाबेल वा तकिया साटेर प्रयोग गर्न दिनुहुँदैन । पढ्ने ठाउँमा पर्याप्त र मृदु प्रकाशको व्यवस्था मिलाउनुपर्छ । अँध्यारोमा वा सुतिरहेका अवस्थामा पढ्न दिनुहुँदैन । पढ्दा आँखाबाट करिब एक फिट टाढा किताब राख्ने बानी बसाल्नुपर्छ । बच्चालाई दैनिक केही समय खेल्न दिएमा यसले आँखाको दृष्टि प्राकृतिक रूपमा सुदृढ बनाउँछ । क्रिकेट, फुटबल, व्याडमिन्टनजस्ता खेलमा सुरक्षात्मक चस्मा लगाउन दिनुपर्छ । धारिलो वा सिसाजन्य खेलौना खेल्न दिनुहुन्न । बच्चाले दैनिक सात–नौ घण्टा राम्रोसँग सुत्नुपर्छ । लामोसम्म पढेपछि वा टिभी हेरेपछि आँखालाई केहीबेर आराम गर्न लगाउनुपर्छ । कुनै समस्या नदेखिए पनि हरेक एक–दुई वर्षमा बच्चाको आँखा परीक्षण गराउनुपर्छ । बच्चाले किताब वा टिभी नजिकै हेर्छ भने, बारम्बार आँखामा हात लगाउँछ वा मिच्छ भने, दृष्टि धमिलो भएको गुनासो गर्छ भने आँखाको दिशा फरक दखिन्छ भने तुरुन्त नेत्र चिकित्सक कहाँ लैजानुपर्छ ।

औद्योगिक क्षेत्रमा काम गर्नेले ध्यान दिनुपर्ने कुरा

औद्योगिक क्षेत्रमा काम गर्ने कामदार आँखामा चोटपटक वा धुलो धुवाँबाट बढी प्रभावित हुन्छन् । काम गर्दा धुलो, धातुका टुक्रा, रासायनिक पदार्थ वा चिङ्गारीले आँखामा चोट पुर्‍ याउन सक्छ । त्यसैले उनीहरुले आँखाको हेरचाहका लागि काम गर्दा फिल्टर भएको हेल्मेट र सुरक्षा चस्मा लगाउनुपर्छ भने वेल्डिङ, ग्राइल्डिङ, काट्ने वा पेन्ट गर्ने काममा विशेष चस्मा प्रयोग गर्नुपर्छ । वेल्डिङको तेज प्रकाशले आँखामा ‘वेल्डर बर्न’ नामको जलन ल्याउँछ ।

पेन्ट, एसिड, सोल्भेन्ट, ग्रीस, वा अन्य केमिकलहरू आँखामा परेमा तरुन्त सफा पानीले १०–१५ मिनेटसम्म पखाल्नुका साथै तुरुन्त नेत्र चिकित्सक कहाँ तुरुन्त जानुपर्छ । सुरक्षात्मक मास्क र चस्मा लगाएर रासायनिक पदार्थ प्रयोग गरेका सम्भावित जोखिम कम हुन्छ । अध्याँरोमा वा छायाँमा काम गर्दा आँखामा बढी चाप पर्ने हुँदा पर्याप्त बत्ती भएको ठाउँमा काम गर्नुपर्छ ।

काम गर्दा धुलो र धुवाँ बढी हुने ठाउँमा भेन्टिलेसन राम्रो भएको ठाउँ रोज्नुपर्छ । आँखामा धुलो धातुका टुक्रा वा रासायनिक पदार्थ परेमा आँखा मिच्नुहुँदैन । तुरुन्त सफा पानीले पखाल्नुहोस् । यसपछि नजिकको स्वास्थ्य केन्द्र वा नेत्र चिकिल्सकलाई देखाउनुपर्छ । सामान्य हो भनेर पर्खिनु कहिल्यै हँुदैन । सानो चोटले पनि ठूलो समस्या ल्याउन सक्छ । औद्योगिक क्षेत्रमा काम गर्ने व्यक्तिले हरेक छ महिनामा एकपटक आँखाको जाँच गराउने तथा दृष्टि धमिलो, पोल्ने, रातो हुने वा पानी आउने समस्या भएमा तुरुन्त नेत्र विशेषज्ञलाई देखाउनुपर्छ ।

खेलाडीले अपनाउनुपर्ने सतर्कता

खेलकुदका क्रममा प्रयोग हुने खेल सामग्री अन्य खेल उपकरणले आँखामा चोट पुर्‍ याउन सक्छ । क्रिकेट, ब्याडमिन्टन, टेबल टेनिस, बास्केटबल, फुटबल रग्बी खेलमा आँखाको सुरक्षा अनिवार्य छ । त्यसैले खेलको प्रकारअनुुसार सुरक्षात्मक चस्माको प्रयोग गर्नुपर्छ । धाममा खेल्दा सूर्यको हानिकारक किरणबाट बच्न धुप चश्मा लगाउनुपर्छ । धुलो र हावावालो ठाउँमा खेल्दा आँखा पोल्ने पानी आउने र रातो हुने समस्या हुनसक्ने भएकाले टोपी वा हेडब्यान्ड लगाउने गर्नुपर्छ । खेलाडीले आफ्नो आँखा स्वस्थ राख्न केही सावधानी अपनाउनुपर्ने हुन्छ ।

जस्तै : खेलपछि हात सफा नगरी आँखामा नछुने, पसिना वा धुलो आँखामा पेरमा सफा पानीले पखाल्ने, रुमाल वा टाबल अरूसँग साटेर प्रयोग नगर्ने । बल, औँला वा कुनै वस्तुले आँखामा चोट लाग्दा भित्री चोट लाग्नसक्छ । तुरुन्त ठण्डा पानी वा बरफले सेक्ने र त्यसलाई बेवास्ता नगरी नेत्र चिकित्सक कहाँ जानुपर्छ ।

कन्ट्याक्ट लेन्स प्रयोग गरेका खेलाडीले थप सावधानी अपनाउनुपर्ने हुनसक्छ । खेल्दा पसिना वा धुलोका कारण कन्ट्याक्ट लेन्स बिग्रिन सक्छ । सम्भव भएसम्म स्पोर्टस् गगल्स प्रयोग गर्ने र लेन्स प्रयोज गर्दा हरेकपटक सफा हातले लगाउने र निकाल्ने बानी बसाल्नुपर्छ । अध्याँरो वा अत्यधिक तेज बत्ती भएको मैदानमा खेल्दा आँखामा तनाव आउने हुँदा उचित प्रकाश भएको ठाउँमा खेल्नुपर्छ, जसबाट वस्तु स्पष्ट देखियोस् ।

आँखाको शक्ति बढाउन गाजर, सागपात, आँप, सुन्तला, अण्डा, माछा, दूधजस्ता खानेकुराले भिटामिन ए, बी, सीले दृष्टि समृद्ध तुल्याउँछ । खेलपछि शरीर मात्र होइन, आँखालाई पनि विश्राम चाहिन्छ । राति सात–आठ घण्टा सुत्नुहोस ताकी आँखाले पनि पुनः शन्ति पाओस् । लामो समयको अभ्यासपछि केहीबेर आँखा बन्द गरेर विश्राम लिने गर्नुपर्छ । खेलाडीहरूले हरेक वर्षमा कम्तीमा एकपटक आँखाको परीक्षण गराउनुपर्छ । दृष्टि धमिलो भएमा, आँखा पोलेमा, पानी आउने वा दोहोरो देखिने समस्या भए तरुन्त नेत्र चिकित्सकहाँ सम्पर्क गर्नुपर्छ ।

विभिन्न रोगका बिरामीले दिनुपर्ने ध्यान

अधिकांश मानिस विभिन्न सर्ने वा नसर्ने खालका रोगबाट पीडित हुन्छन् । त्यस्त बिरामीले आफूलाई लागेको रोगको उपचारसँगै त्यसले आँखामा पार्नसक्ने जटिलता हुन नदिन विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । यहाँ केही रोगका बिरामीले दिनुपर्ने ध्यानका बारेमा उल्लेख गरिएको छ ।

मधुमेहका बिरामीले दिनुपर्ने ध्यान : लामो समय उच्च मधुमेहको समस्यामा जेलिँदा आँखाका साना नसा बिग्रन्छन् । यसलाई डाइबेटिक रेटिनोप्याथी भनिन्छ । यसले मधुमेहका बिरामीको दृप्टि हराउन सक्छ । सर्वप्रथम त उनीहरुले चिनी, रक्तचाप र कोलेस्ट्रोल नियन्त्रणमा राख्नुका साथै नियमित रूपमा औषधि र खानामा ध्यान दिनुपर्छ । दृष्टि धमिलो हुने, कालो डाबर देखिने वा उज्यालोमा समस्या देखिए तुरुन्त डाक्टरलाई देखाउनुपर्ने हुन्छ । दृप्टि ठीक भए पनि वर्षको एकपटक आँखाको जाँच गराउनु आवश्यक हुन्छ । यदि आँखामा समस्या देखिएको छ भने तीन–छ महिनामा नेत्र चिकित्सक कहाँ जानुपर्ने हुन्छ ।

रक्तचाप भएका बिरामीले दिनुपर्ने ध्यानः रक्तचाप बढी हुँदा आँखाका नसामा असर पर्छ जसलाई ‘हाइपरटेन्सिभ रेटिनोप्याथी’ भनिन्छ । यस्ता बिरामीले आफ्नो रक्तचाप नियमित रूपमा नाप्नुहोस् र औषधि समयमा लिने, नुन कम खानुहोस्, तनाव घटाउने र नियमित व्यायाम गर्नुपर्छ । आँखामा परिवर्तन देखिएको छ भने छ महिनामा एकपटक र सामान्य अवस्थामा पनि बिरामीले प्रत्येक एक –दुई वर्षमा आँखाको जाँच गराउनुपर्छ ।

क्षयरोगका बिरामीले दिनुपर्ने ध्यान : कुनैकुनै औषधि जस्तै इथामबुटोलले आँखाको नसामा असर पारी दृष्टि धमिला बनाउन सक्छ । त्यसैले यस्ता औषधि सुरु गर्नुअघि आँखाको जाँच गराउनुपर्छ । उपचारका क्रममा दृष्टि धमिलो हुने, रङ्ग देख्न गाह्रो भएमा वा आँखामा दुखाई भएमा तुरुन्त सम्बन्धित चिकित्सकलाई देखाउनुपर्छ । यस्तो अवस्थामा औषधि आफँै रोक्न हुन्न । यस्ता बिरामीले औषधि सुरु गर्नुअघि आँखाको जाँच गराउने, बीचमा पनि महिनामा एकपटक दृष्टि जाँच गर्दा राम्रो हुन्छ भने उपचार समाप्त भएपछि अन्तिम जाँच गराउँदा जटिलता आउन पाउँदैन ।

गठियाका बिरामीका लागि : गठिया रोगले कहिलेकाहीँ आँखामा युभेटिइस सुजन वा कण जम्मा हु्ने समस्या ल्याउनसक्छ । यस्ता बिरामीले युरिक एसिड नियन्त्रणमा राख्ने, प्रशस्त पानी पिउने, रातो मासु, रक्सी र माछा कम खाने गर्नुका साथै आँखामा रातोपन आएमा, आँखा पोलेमा वा दृष्टि धमिलो भएमा तुरुन्त जाँच गराउनुपर्छ । रोग नियन्त्रणमा भइसकेका अवस्थामा पनि वर्षमा एकपटक आँखाको जाँच गराउन र आँखामा कुनै समस्या देखापरेमा तुरुन्त नेत्र विशेषज्ञकहाँ जानुपर्छ ।

(प्रस्तुत विचार वरिष्ठ नेत्ररोग विशेषज्ञ डा  डिबी कार्कीसँग राससका आलेख प्रमुख कृष्ण अधिकारीले गरेको कुराकानीमा आधारित)