घोडाघोडी (कैलाली), २० जेठ । लम्कीचुहा नगरपालिका–१ भुरुवाकी धना बोहराको जीवन केही वर्षअघिसम्म सामान्य ग्रामीण महिलाको जस्तै थियो । उनको अधिकांश समय घरधन्दा, बालबच्चाको हेरचाहमा बित्थ्यो ।
श्रीमान्को एकल आम्दानीमा आश्रित परिवार आर्थिक रूपमा सङ्घर्षरत थियो । दैनिक आवश्यकता पूरा गर्न कठिन थियो । सीमित आम्दानी, बढ्दो खर्च र भविष्यप्रतिको अनिश्चितताले परिवारलाई निरन्तर दबाब थियो ।
चार वर्षअघि एउटा सीपमूलक तालिमले बोहराको जीवनलाई अघि बढाउने मार्ग नै बदलिदियो । स्थानीय सरकारले सञ्चालन गरेको दुनाटपरी बनाउने तालिममा सहभागी भएपछि उनले आफ्नो क्षमता पहिचान गर्ने अवसर पाए । तालिमपछि नगरपालिकाले पनि मेसिन उपलब्ध गरायो । उनले ‘सृजनशील दुनाटपरी उद्योग’स्थापना गरे । सुरुमा सानो प्रयासका रूपमा सुरु भएको उद्योग आज स्थानीयस्तरमा सफल उद्यमको उदाहरण बनेको छ ।
बोहराको उद्योगमा अहिले आठ जना स्थानीय महिलाले नियमित रोजगारी पाइरहेका छन् । बिहान जङ्गलबाट सालको पात सङ्कलन गर्ने र दिउँसो उद्योगमा दुनाटपरी उत्पादन गर्ने उनको दैनिकी बनेको छ । उद्योगबाट दैनिक हजारभन्दा बढी दुनाटपरी उत्पादन हुने गरेको छ । दसैँ, तिहार, माघेसङ्क्रान्ति, श्राद्ध, पूजाआजा, मेला तथा थारू समुदायका विवाह समारोहमा यसको माग अत्यधिक हुने गरेको छ ।
कतिपय विवाहमा १० हजारभन्दा बढी दुनाटपरी आवश्यकपर्ने भएकाले मागअनुसार उत्पादन गर्न कठिन हुने अवस्था भएको बोहरा बताउँछन् ।
धनाको जीवनमा आएको परिवर्तन केबल व्यक्तिगत सफलता होइन । यो वन पैदवारको सदुपयोगले ग्रामीण समाजमा ल्याएको आर्थिक तथा सामाजिक रूपान्तरणको प्रतिनिधि उदाहरण हो । उनीजस्ता सयौँ उद्यमीले वनमा आधारित व्यवसायमार्फत आफ्नो जीवनस्तर उकासिरहेका छन् । स्थानीय समुदायमा रोजगारी र आत्मनिर्भरताको आधार निर्माण गरिरहेका छन् ।
रोजगारी, आय र आत्मनिर्भरता
वन पैदावर उद्योगको सबैभन्दा सकारात्मक प्रभाव ग्रामीण महिलाको जीवनमा देखिएको छ । परम्परागत रूपमा घरधन्दामै सीमित रहने महिला अहिले उत्पादन, व्यवस्थापन र उद्यमशीलताका क्षेत्रमा सक्रिय बन्दै गएका छन् ।
विशेषगरी एकल महिला, विपन्न परिवार तथा सीमित अवसर भएका महिलाका लागि यस्ता उद्योग जीवन परिवर्तन गर्ने माध्यम बनेका छन् । बोहराको उद्योगमा रोजगारी प्राप्त गरिरहनुभएकी रङ्गा उपाध्याय एकल महिला हुन् । श्रीमान् नहुँदा सन्तानको जिम्मेवारी सम्हाल्न कठिन भइरहेका बेला आफ्नै कमाइले घर खर्च चलाउन सहज भएको उनी बताउँछन् ।
पहिले धेरै महिला आर्थिक रूपमा परिवारमा पूर्ण रूपमा निर्भर थिए । अहिले उनीहरूले आफ्नै कमाई गर्न थालेपछि परिवारको आर्थिक अवस्था सुधारिएको छ । बालबालिकाको शिक्षा, स्वास्थ्य तथा दैनिक आवश्यकता पूरा गर्न सहज भएको छ । दुनाटपरी उद्योग मात्र होइन, बाँस र बेतमा आधारित उद्योगमा महिलाको सहभागिता छ । हस्तकला, सजावटी सामग्री तथा घरायसी प्रयोगका सामग्री उत्पादनमा महिलाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।
कैलालीको टीकापुरस्थित तिलगङ्गा बेत–बाँस फर्निचर उद्योगमा कार्यरत हिराकुमारी चौधरी बेतबाट विभिन्न सामग्री बनाउँछन् । उनका अनुसार यस कामबाट दैनिक रु ८०० देखि एकहजारसम्म आम्दानी हुने गरेको छ । पहिले घरखर्च व्यवस्थापन गर्न कठिन हुने गरे पनि अहिले आफ्नै कमाइले ऋणको ब्याज तिर्न, बालबालिकालाई विद्यालयका लागि खाजा खर्च दिन तथा अन्य खर्च जुटाउन सहज भएको उनी बताउँछन् ।
उद्योगमै कार्यरत मिना चौधरी मुडा, फूलदानी, ¥याकलगायत सामग्री निर्माण गर्छन् । घरायसी जिम्मेवारीसँगै आम्दानीको अवसर पाउँदा परिवारको आर्थिक अवस्थामा सुधार आएको उनको अनुभव छ । घरसँगै उद्योगमा काम गर्न मिल्ने भएकाले घरखर्च चलाउन तथा परिवारको आवश्यकता पूरा गर्न सहज भएको उनी बताउँछन् । उद्योगमा ५० भन्दा धेरै कामदार छन्, जसमध्ये धेरैजसो महिला छन् ।
वनजन्य उद्योगमा महिलाको बढ्दो सहभागिताले उनीहरूलाई आर्थिक रूपमा मात्र होइन, सामाजिक रूपमा पनि सशक्त बनाएको छ । आफ्नै सीप र श्रमबाट आम्दानी गर्न थालेपछि महिलामा आत्मविश्वास बढेको छ । परिवार र समाजमा उहाँको भूमिका अझ प्रभावकारी बन्दै गएको छ । गाउँमै उपलब्ध स्रोत र सीपको उपयोग गरेर सञ्चालन भइरहेका यस्ता उद्योगले महिलाको आत्मनिर्भरता र ग्रामीण आर्थिक विकासलाई एकसाथ अगाडि बढाइरहेका छन् ।
सुदूरपश्चिम प्रदेशमा वनजन्य उद्योग पछिल्ला वर्षमा ग्रामीण अर्थतन्त्रका महत्वपूर्ण आधारका रूपमा स्थापित हुँदै गएका छन् । वनबाट प्राप्त हुने कच्चापदार्थको उपयोग गरेर सञ्चालन भइरहेका विभिन्न उद्योगले स्थानीयस्तरमै रोजगारी सिर्जना गर्नुका साथै आम्दानीका नयाँ अवसर पनि प्रदान गरिरहेका छन् ।
परम्परागत सीपदेखि आधुनिक बजारसम्म बेत र निगालोमा आधारित उद्योगले परम्परागत सीपलाई आधुनिक बजारसँग जोडिरहेका छन् । पहिले घरायसी प्रयोगमा सीमित रहने बाँस र बेतका सामग्री अहिले सहरका होटल तथा रेस्टुरेन्टसम्म पुग्न थालेका छन् ।
डोको, नाङ्लो, टोकरीजस्ता परम्परागत सामग्रीसँगै कुर्सी, टेबल, सोफा, सजावटी सामग्री तथा विभिन्न हस्तकलाका वस्तु उत्पादन भइरहेका छन् । प्राकृतिक, वातावरणमैत्री र आकर्षक डिजाइनका कारण यस्ता सामग्रीको माग निरन्तर बढिरहेको तिलगङ्गा बेत–बाँस फर्निचर उद्योगका सञ्चालक भरतलाल विक बताउँछन् ।
बेतसँगै काठमा आधारित उद्योग पनि प्रदेशको अर्थतन्त्रका महत्वपूर्ण हिस्सा बनेका छन् । कैलाली र कञ्चनपुरमा सञ्चालन भइरहेका फर्निचर उद्योगले साल, सिसौ, असना र हल्दुजस्ता काठको उपयोग गरेर आधुनिक तथा परम्परागत डिजाइनका फर्निचर उत्पादन गरिरहेका छन् ।
यस्ता उद्योगले स्थानीय कालीगढको सीपलाई व्यावसायिक अवसरमा रूपान्तरण गरेका छन् । काठ प्रशोधन, डिजाइन, निर्माण तथा बिक्रीवितरणका विभिन्न चरणमा प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना भएको छ । मागका हिसाबले यस क्षेत्रमा अझै ठूलो सम्भावना रहेको आकाश फर्निचर उद्योगका सञ्चालक सनम दत्त राजवंशी बताउँछन् ।
उनी भन्छन्, “कच्चापदार्थको सहज उपलब्धता र स्थिर बजार भए उद्योगलाई अझ विस्तार गर्न सकिन्छ ।” वनजन्य उद्योगको अर्को मत्वपूर्ण क्षेत्र कत्था उद्योग हो । खयरको काठबाट उत्पादन हुने कत्थाले राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याइरहेको छ । कत्था उद्योगले वनजन्य स्रोतको मूल्य अभिवृद्धि गरेर विदेशी मुद्रा आर्जनमा योगदान दिएको छ । खयर सङ्कलनदेखि प्रशोधन र निर्यातसम्मका गतिविधिमा धेरै स्थानीय नागरिकको जीविकोपार्जन जोडिएको कैलालीको गेटास्थित लक्ष्मी कत्था उद्योगका सञ्चालक रोशन कर्ण बताउँछन् ।
मध्यपहाडी क्षेत्रमा पाइने खोटेसल्लाबाट सङ्कलन गरिने खोटोले आर्थिक गतिविधिलाई चलायमान बनाएको छ ।
सुदूरपश्चिमका मध्यपहाडी जिल्लामा पाइने खोटेसल्लाबाट खोटो सङ्कलन गरी प्रशोधन र निर्यातसमेत भइरहेको छ । प्रदेशका डडेलधुरा, डोटी, कैलालीलगायत जिल्लाबाट वार्षिक एक हजार ५०० मेट्रिकटनभन्दा बढी खोटो सङ्कलन हुने गरेको कैलालीको अत्तरियास्थित दिव्या रोजिन एण्ड टर्पेन्टाइन कम्पनीका सञ्चालक खड्क बम बताउँछन् । उनका अनुसार खोटो सङ्कलन र प्रशोधनले ग्रामीण क्षेत्रमा थप रोजगारीसमेत सिर्जना गरेको छ ।
सम्भावना ठुलो, चुनौती अझै बाँकी
सुदूरपश्चिमका पहाडी जिल्ला जडीबुटीको दृष्टिले अत्यन्तै समृद्ध मानिन्छन् । दार्चुला, बैतडी, बझाङ, बाजुरालगायत जिल्लाका वन क्षेत्रमा पाइने यार्सागुम्बा, चिराइतो, सतुवा, वनलसुन, टिमुर, तेजपात, अमला तथा रिट्ठाजस्ता उत्पादनको राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा उच्च माग छ । हजारौँ परिवारको आम्दानीको स्रोत बनेका यी जडीबुटीले ग्रामीण अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याइरहेका छन् । तर यति ठूलो सम्भावना हुँदाहुँदै पनि यस क्षेत्रले अपेक्षित उपलब्धि हासिल गर्न सकेको छैन ।
जडीबुटी मात्र होइन, बाँस–बेत, काठ, खोटो, कत्था तथा दुना–टपरीमा आधारित उद्योगहरूले पनि विभिन्न चुनौती सामना गरिरहेका छन् । कच्चापदार्थको दिगो व्यवस्थापन, आधुनिक प्रविधि तथा उपकरणको अभाव, प्रशोधन उद्योगको कमी, बजार विस्तार र उत्पादनको बजारीकरणजस्ता विषय अझै चुनौतीका रूपमा रहेका छन् ।
अधिकांश जडीबुटी तथा अन्य वनजन्य उत्पादन अझै पनि कच्चा रूपमै बिक्री हुने गरेका छन् । बझाङका जडीबुटी सङ्कलक राम्पस बोहरा भन्छन्, “पहिलेजस्तो मूल्य नै पाइँदैन ।” उचित मूल्य नपाउँदा वनजन्य स्रोतमा निर्भर धेरै परिवारले अपेक्षित लाभ लिन सकेका छैनन् ।
जडीबुटी व्यवसायी राजेन्द्र धामीका अनुसार यस क्षेत्रमा ठुलो सम्भावना भए पनि पर्याप्त प्रशोधन उद्योग, भण्डारण सुविधा र बजार सूचनाको अभावले सङ्कलक तथा व्यवसायीले उचित लाभ लिन सकेका छैनन् । उनी भन्छन्, “अधिकांश कच्चा जडीबुटी भारत र चीनमा सस्तो मूल्यमा निर्यात गर्नुपर्ने बाध्यता अझै कायम छ ।”
सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाका अनुसार स्थानीय स्रोत र सीपको उपयोग गर्दै सञ्चालन भइरहेका यस्ता उद्योगले ग्रामीण अर्थतन्त्रलाई सुदृढ तुल्याइरहेको छ । वन पैदावरमा आधारित उद्योगको दिगो विकासका लागि नीतिगत सुधार, पूर्वाधार निर्माण, सीप विकास तथा बजार विस्तारमा सरकारले काम गरिरहेको छ । –इन्द्राकुमारी केसी/रासस



प्रतिक्रिया