एमाले अध्यक्ष ओलीको गर्जन- ‘मैदान छोड्दिनँ’


काठमाडौँ । नेकपा एमालेभित्रको आन्तरिक शक्ति सन्तुलन र राष्ट्रिय राजनीतिको अंकगणित बदलिइरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले फेरि एकपटक आफू तत्काल विश्राम लिने पक्षमा नरहेको स्पष्ट संकेत दिएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा ओलीले व्यक्त गरेको राजनीतिक अभिव्यक्तिले एमालेभित्र नयाँ तरंग पैदा गरिदिएको छ।

पार्टीभित्र नेतृत्व हस्तान्तरणको बहस चलिरहेका बेला ओलीले आफू अनुकूल समयमा मात्रै पदको आशक्ति राख्ने र अप्ठ्यारो पर्दा मैदान छोडेर भाग्ने नेता नभएको दाबी गरे। ‘सजिलो परिस्थितिमा प्रधानमन्त्री खान कस्सिने र अप्ठ्यारो आउँदा झोला फ्याँकेर भाग्ने गरी म अध्यक्ष बनेको होइन,’ ओलीको यो भनाइले उनी अझै एमाले अध्यक्षमा लामो समय रहिरहन चाहेको प्रष्ट पार्छ।

संकटको सारथी कि सत्ताको मोह ?
ओलीले आफूलाई घेराबन्दीमा पार्न खोज्ने विपक्षी र पार्टीभित्रैका असन्तुष्ट स्वरहरूलाई कडा जवाफ दिएका छन्। उनले पार्टीलाई फेरि एकपटक राष्ट्रिय राजनीतिको केन्द्रभागमा स्थापित गराएर मात्रै विधिसम्मत रूपमा विश्राम लिने नीति अघि सारेका छन्। भने, ‘मैले बीचैमा झोला फ्याँकेर अलपत्र छोडेर हिँड्ने हो कि भन्ने आशंका मनमा नलिनु होला। म अप्ठयारो परिस्थितिसँग जुधेर, पार्टीलाई सफलतामा पुर्‍याएर मात्र विधिसम्मत तरिकाले विश्राम लिनेछु।’

राजनीतिक विश्लेषकहरू ओलीको यो अभिव्यक्तिलाई दुई अर्थमा हेर्छन्। पहिलो- पार्टीभित्र हुर्कदै गरेको नेतृत्व परिवर्तनको दबाबलाई साम्य पार्नु। दोस्रो- पार्टीमा आफ्नो अपरिहार्यता अझै बाँकी रहेको सन्देश दिनु।

व्यक्तिगत संकटदेखि राजनीतिक सक्रियतासम्म
जेनजी आन्दोलन दबाएर हेलिकोप्टर चढेर भागेका ओली पछिल्लो समय चुनावी हार, पितृशोक र स्वास्थ्य समस्याका कारण केही समय गुण्डुमा सीमित बनेका थिए । अब भने ओली आक्रामक रूपमा मैदानमा उत्रने तयारीमा छन्। आफू भौतिक र मानसिक रूपमा उत्तिकै सक्रिय रहेको पुष्टि गर्न उनले अबका दिनमा नेता–कार्यकर्तासँगको भेटघाटलाई तीव्र बनाउने घोषणा समेत गरे।

ओलीको आगामी रणनीति
पार्टीका असन्तुष्ट पक्ष र सिनियर नेताहरूसँगको संवादलाई बाक्लो बनाउने।

– ग्रासरुट तहसम्म पुगेर पार्टी पङ्क्तिलाई स्थानीय तह चुनावी मोर्चाका लागि तयार राख्ने।

वर्तमान बालेन सरकारको कार्यशैलीविरुद्ध एमालेलाई खरो रूपमा उतार्ने।

नेपाली राजनीतिको केन्द्रविन्दुमा सधैँ जसो चर्चामा रहने ओलीको यो घोषणाले एमालेभित्रको भावी नेतृत्वको दौडलाई केही समयका लागि ‘होल्ड’ गरिदिन सक्ने विश्लेषकहरु औँल्याउँछन् । तर, जेनजी आन्दोलन दबाएको अभियोग, उमेर र स्वास्थ्यको सीमितताका बीच ओली मैदानमा आक्रामक रूपमा धेरै समय टिक्न नसक्ने विश्लेषकहरुको ठहर छ ।