बुटवल । स्वतन्त्र नागरिक अभियान नेपालका अध्यक्ष एवं चर्चित पत्रकार ऋषि धमलाले देशमा जातीय विभेदको पूर्ण अन्त्य नभएसम्म वास्तविक परिवर्तन सम्भव नभएको दाबी गरेका छन् । अभियान विस्तार तथा जनता जागरण कार्यक्रमका सिलसिलामा बुटवल पुगेका धमलाले दलित समुदायबाट देशको नेतृत्वकर्ता र राष्ट्रपति हुनुपर्ने धारणा राखेका हुन् ।
जातीय विभेद उन्मूलन दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष धमलाले नेपालको संविधानले कागजमा विभेद अन्त्य गरे पनि व्यवहारमा अझै अक्षरशः पालना हुन नसकेको टिप्पणी गरे ।
‘नेपालको संविधानमा विभेद छैन, तर व्यवहारमा अझै पनि विभेद जीवितै छ,’ धमलाले भने, ‘आज म गर्वका साथ भन्छु— दलित समुदाय देशको नेतृत्वकर्ता हुनुपर्छ, यो देशको राष्ट्रपति हुनुपर्छ भन्ने पहिलो मान्छे मै हुँ । दलितले देश हाँक्ने मौका पाउनैपर्छ ।’
आफ्नो प्रभावशाली र आक्रामक शैलीमा प्रस्तुत भएका धमलाले दलित समुदायको जनसंख्या र क्षमता कमजोर नभएको भन्दै उनीहरूको नेतृत्वदायी भूमिकाका लागि आफू जस्तोसुकै लडाइँ लड्न तयार रहेको बताए । उनले राज्यका शासकहरूलाई प्रश्न गर्दै स्थानीय तहदेखि केन्द्रसम्म दलित समुदायको वास्तविक सहभागिता कति छ भनी प्रश्नसमेत गरे ।
‘देशभरि दलितको प्रतिनिधित्व कसरी बढाउने भन्ने बहसको सुरुवात भएको छ । म सधैं दलितलाई सम्मान गर्ने र उनीहरूमाथि अन्याय हुँदा सडकदेखि सदनसम्म आवाज उठाउने व्यक्ति हुँ,’ धमलाले भने ।
कार्यक्रममा बोल्दै उनले सरकार र प्रधानमन्त्रीको ध्यानाकर्षणसमेत गराए । ‘मेरो मन र मस्तिष्कले भन्छ— जबसम्म दलितका छोराछोरीहरू यो देशको मन्त्री, प्रधानमन्त्री र मेयर बन्दैनन्, तबसम्म तपाईँहरूको मुद्दा जीवितै रहन्छ,’ धमलाले थपे, ‘त्यसैले अधिकार प्राप्तिका लागि अब कसैको मुख नताकी अगाडि बढ्न म आह्वान गर्दछु ।’
यसै क्रममा उनले बुटवलको विकासका बारेमा बोल्दै बुटवल उपमहानगरपालिकालाई तत्काल महानगरपालिकामा स्तरोन्नति गर्नुपर्ने मागसमेत अघि सारेका छन् ।



प्रतिक्रिया