काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीमा ठूलो पहिरो गएको छ । पार्टीका वरिष्ठ नेता धवलशमशेर राणासहित १८६ जना नेता–कार्यकर्ताले बिहीबार सामूहिक रूपमा राप्रपा परित्यागको घोषणा गरेका छन् ।
काठमाडौँमा एक विशेष भेलाको आयोजना गर्दै राणाले राप्रपा मक्किसकेको र चर्किसकेको टिप्पणी गर्दै नयाँ राजनीतिक दल गठन गर्ने उद्घोष गरे । पाँच वर्षअघि एकता महाधिवेशनमा राजेन्द्र लिङ्देनलाई अध्यक्ष जिताउन मुख्य भूमिका खेलेका राणाले अहिले लिङ्देनकै कार्यशैलीका कारण घर छोड्नुपर्ने अवस्था आएको गुनासो गरे ।
‘पाँच वर्षपहिले राजेन्द्र लिङ्देनलाई अंगालो मारेर अध्यक्ष बनाएका थियौँ, तर दुःखका साथ आज हामीले घर नै छोड्नुपर्ने अवस्था आयो,’ भावुक मुद्रामा प्रस्तुत भएका राणाले भने, ‘यो हाम्रा लागि सुखको दिन होइन, दुःखको दिन हो । तर आफ्नो राजनीतिक यात्रामा बोकेको मूल्य र मान्यता आफू बसेको घरबाट पार लाग्दैन भन्ने ठानिसकेपछि हिम्मत गर्नुपर्छ र अर्को घर बनाउनुपर्छ ।’
उनले पार्टीभित्र आफूले सुधार र आन्दोलनका लागि गरेका हरप्रयासलाई असफल पारिएको आरोप लगाए ।
राप्रपाभित्र लामो समयदेखि बढ्दै गएको आन्तरिक असन्तोष र शक्ति संघर्षका कारण अन्ततः राणा समूहले पार्टी नै विभाजनको दिशामा लगेको हो । सामूहिक राजीनामा दिनेहरूमा केन्द्रीय सदस्यदेखि विभिन्न भ्रातृ संगठनका नेताहरूसमेत रहेका छन् । नयाँ गठन हुने पार्टीको नाम र वैचारिक खाका चाँडै सार्वजनिक गरिने जानकारी दिइएको छ ।



प्रतिक्रिया