टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि कारागार चलान


ललितपुर । जिल्ला अदालतले चर्चित टिकटकर तुलसा अधिकारीलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ । न्यायाधीश टेकनाथ गौतमको इजलासले बिहीबार थुनछेक बहसपछि अधिकारीलाई मुद्दाको किनारा नलागेसम्म थुनामै राख्न आदेश दिएको हो ।

थुनछेक बहसका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अधिकारीलाई बिहीबार बिहान अदालत उपस्थित गराएको थियो । अदालतको आदेशलगत्तै उनलाई जगन्नाथ देवल (केन्द्रीय कारागार) सुन्धारा पठाइएको ललितपुर जिल्ला अदालतका प्रवक्ता एवं सूचना अधिकारी टीकाध्वज कार्कीले जानकारी दिए ।

अधिकारीविरुद्ध कुमार चिमोरियाको जाहेरीका आधारमा नेपाल प्रहरीले अनुसन्धान अघि बढाएको थियो । उनीविरुद्ध आपराधिक लाभ (एक्सटर्सन), संगठित अपराध र सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) जस्ता गम्भीर कसूरमा मुद्दा दायर भएको छ । यस प्रकरणमा अधिकारीसहित १० जनालाई प्रतिवादी बनाइएको अदालतले जनाएको छ ।