काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले सीमासम्बन्धी विषयलाई लिएर प्रधानमन्त्री बालेन शाहलाई खलनायक बनाउन खोजिएको भन्दै आपत्ति जनाएकी छन् । सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै सचेतक धितालले संवेदनशील कूटनीतिक मुद्दामा खोक्रो राष्ट्रवादको खेती नगर्न चेतावनी दिएकी हुन् ।
प्रधानमन्त्री शाहले संसदमा प्रश्नोत्तरका क्रममा सीमा समस्याबारे व्यक्त गरेको धारणालाई लिएर भइरहेको राजनीतिक आरोप–प्रत्यारोपप्रति उनले असन्तुष्टि पोखिन् । ‘सीमासम्बन्धी विषय हाम्रा लागि अत्यन्त संवेदनशील, भावनात्मक र दशकौँदेखि समाधान हुन नसकेको राष्ट्रिय मुद्दा हो,’ धितालले लेखेकी छन्, ‘प्रधानमन्त्रीले व्यक्त गर्नुभएको विचारलाई जसरी खलनायकको रूपमा चित्रित गरिँदैछ, त्यसतर्फ मेरो गम्भीर चासो छ ।’
उनले तत्कालै प्रधानमन्त्रीलाई दोषी करार गरेर नागरिकहरूमा आशंका फैलाउनु र भावनालाई उत्तेजित बनाउनुभन्दा कूटनीतिक संवाद र परिणामलाई पर्खिनु नै बुद्धिमानी हुने उल्लेख गरेकी छन् ।



प्रतिक्रिया