मर्यादा तोड्दै रवि लामिछानेले दिल्लीमै भेटे भारतका लागि अमेरिकी राजदूत


काठमाडौं, जेठ २१ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरसँग नयाँ दिल्लीमा भेटवार्ता गरेका छन् ।

अमेरिकाका तर्फबाट दक्षिण एसियाका लागि विशेष दूत समेत रहेका राजदूत गोरसँगको भेटवार्तालाई विशेष चासोका साथ हेरिएको छ । यसअघि भारत भ्रमणमा रहेका कुनै पनि नेपाली नेताले भारतका लागि अमेरिकी राजदूतसँग भेट गरेका थिएनन् । यो पहिलो पटक हो ।

राजदूत गोर केही समयअघि नेपाल भ्रमणमा आएका बेला लामिछानेसँग भेट गरेर फर्किका थिए । उक्त भेटवार्तामा नेपाल र अमेरिकाबीचको आर्थिक साझेदारीलाई सुदृढ बनाउनेबारे छलफल भएको गोरले सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए ।

राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वास पात्रमध्ये एक गोरले नेपाल भ्रमणका क्रममा चीनसँगको सिमाना नजीक सगरमाथा आधार शिविर पुगेर ड्रोन परीक्षण गरेको समाजिक सञ्जालमार्फत खवर सार्वजनिक भएपछि गृह मन्त्रालयले सुरक्षा संवेदनशीलता र अनुमति प्राप्त दायरा बाहिरका गतिविधि सञ्चालन भएको आशंकामा एयर लिफ्ट टेक्नोलोजीको ड्रोन उडानमा रोक लगाएको थियो ।

राष्ट्रपति ट्रम्पको सचिवालयमा काम गरिसकेका सर्जियोको भेटवार्ता एउटा राजदूतको रूपमा मात्र नभई ट्रम्पको दूतको रूपमा भइहरेको जानकारहरू बताउँछन् । गोरलाई ट्रम्प र अर्वपति व्यापारी एलन मस्कबीच सम्बन्ध बिगारेको पनि आरोप लाग्ने गरेको छ ।