काठमाडौं, जेठ २२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतको पाँच दिने भ्रमण पूरा गरी आज स्वदेश फर्कंदै छन् भने आजै परराष्ट्रमन्त्री शिशिर खनाल तीन दिने भ्रमणका लागि नयाँदिल्ली जाँदै छन्।
भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सोमबार नयाँ दिल्ली गएका लामिछाने आज उत्तर प्रदेशको अयोध्या पुगेका छन् । टोलीमा रास्वपा सहमहामन्त्री विपिनकुमार आचार्य, सांसद दीपक बोहोरा, नेता प्रदीप आचार्य र निकिता पौडेल सहभागी छन्। रास्वपा प्रवक्ता मनीष झाका अनुसार यो टोली आजै काठमाडौं आइपुग्नेछ।
त्यस्तै, समकक्षी भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा नयाँदिल्ली जान लागेका खनाल आइतबार स्वदेश फर्कने छन् । खनालले नयाँ दिल्लीमा रहँदा समकक्षी विदेशमन्त्री जयशंकरसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने छन्। उक्त बैठकमा नेपाल र भारतबिचको पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।



प्रतिक्रिया