काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सरकारको आलोचना गर्नु प्रतिपक्षको दायित्व भए पनि त्यसको उद्देश्य सरकारलाई असफल बनाउने नभई सुधारको बाटो देखाउने हुनुपर्ने बताएकी छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले आफू सत्तामा आएको भरमा विपक्षी पक्षलाई समाप्त पार्ने मानसिकता राख्न नहुने पनि बताइन् ।
‘जनताले मत दिएर आएको सरकारको खुट्टा तानेर फाल्ने र ध्वस्त बनाउने होइन । जनताले चाहेको परिवर्तनलाई सम्मान गर्दै काम गर्न दिनुपर्छ,’ उनले भनिन् ।
प्रधानमन्त्री बालेन्द्र साह नेतृत्वको सरकारलाई लक्षित गर्दै उनले विगतका अनुभव र इतिहासबाट सिकेर अघि बढ्न सुझाव दिइन् । मुलुक सञ्चालनमा अनुभव, सहिष्णुता र राजनीतिक परिपक्वता आवश्यक पर्ने उनको भनाइ थियो ।
‘अहिले ३५–३७ वर्षका प्रधानमन्त्री र युवा नेताहरू आएका छन् । उनीहरूले अघिल्ला अनुभवलाई मनन गर्नुपर्छ, इतिहासबाट सिक्नुपर्छ,’ उनले भनिन्, ‘उनीहरू पनि एक दिन त्यही चरणमा पुग्छन् । पार्टीका नेता सधैं युवा भएर बस्दैनन् ।’



प्रतिक्रिया