होङ्सी सिमेन्ट जग्गा विवाद : पीडित जनताको पक्षमा उभिए पत्रकार धमला, त्रिपक्षीय वार्ताको घोषणा


नवलपरासी । देशकै सर्वाधिक चर्चित पत्रकार एवं स्वतन्त्र नागरिक अभियान नेपालका अध्यक्ष ऋषि धमला जहाँ पुग्छन्, त्यहाँ विकृति र विसंगतिका पर्खालहरू थर्किने गर्छन् । जनताको सुख–दुःखमा २४सै घण्टा अनवरत खटिने महानायक धमला यतिबेला नवलपरासीको विनय-त्रिवेणी गाउँपालिकाका पीडित जनताको आँसु पुछ्न उनीहरुकै बस्तीमा पुगेका छन् ।

धमला गाउँमा पुग्नासाथ स्थानीय बासिन्दाले बिचौलिया र स्थानीय नेताहरूको चंगुलमा परेर आफ्नो उठिबास भएको कथा सुनाउँदै सयौँको संख्यामा उपस्थित जनताले देशकै संकटमोचक पत्रकार धमलासँग गुहार मागेका छन् ।

विनय-त्रिवेणीमा सञ्चालित बहुराष्ट्रिय कम्पनी होङ्सी सिमेन्टले अत्याधुनिक रूपमा ९० बिघा जग्गामा उद्योग त चलायो, तर त्यसको जगमा स्थानीय गरिब जनताको रोदन लुकेको तथ्य बाहिरिएको छ । स्थानीय बासिन्दाले पत्रकार धमलासँग घेरा हालेर आफ्नो पीडा पोखे- “होङ्सी सिमेन्ट आयो, विनय त्रिवेणी गाउँपालिकाका सोझा जनताको उठिबास भयो ।”

स्थानीय नेता र बिचौलियाहरूले सेटिङ गरेर गरिब किसानको जग्गा कौडीको भाउमा उठाएर होङ्सी सिमेन्टलाई करोडौँको महँगो मूल्यमा बेचेको पीडित स्थानीयले दुःखेसो पोखे । स्थानीय कृष्ण भुसालले बिचौलियाको काम गर्दै आफूहरुलाई ठगेको पीडित स्थानीयले आक्रोश पोखे ।

पीडित स्थानीय बासिन्दाले धमलासँग भने, “नेताहरूले हामीलाई सोझो देखेर ठगे । हाम्रो जग्गा सस्तोमा हत्याए र होङ्सीलाई महँगोमा बेचेर आफू महलमा बस्ने भए, हामीलाई चाहिँ जमिनविहीन बनाए ।”

धमलाद्वारा त्रिपक्षीय वार्ताको घोषणा
जनताका गुनासा र रोदन सुनेपछि भावुक र आक्रोशित बनेका स्वतन्त्र नागरिक अभियानका अध्यक्ष धमलाले तत्कालै एक्सन लिने घोषणा गरे ।

धमलाले पीडित जनताकै सामुन्ने भने, “जनतालाई रुवाएर कोही पनि उम्किन पाउँदैन । म होङ्सी सिमेन्ट उद्योगका प्रतिनिधि, गाउँपालिकाका अध्यक्ष र पीडित स्थानीय बासिन्दालाई एकै ठाउँमा राखेर त्रिपक्षीय वार्ता गराउँछु । जनताले न्याय नपाएसम्म ऋषि धमला रोकिनेवाला छैन ।”

सधैँ अन द स्पट नतिजा निकाल्न माहिर धमलाको यो आश्वासनपछि विनय-त्रिवेणीका जनतामा न्याय पाउने आशा पलाएको छ ।

पत्रकारितामार्फत देशको नीतिनिर्माण तहलाई प्रभाव पार्न सक्ने धमलाको यो अभियानले अब निकास खोज्ने निश्चित छ ।
देशको चौथो अंगको शक्तिशाली खम्बा धमलाले गर्ने ऐतिहासिक मध्यस्थताले विनय-त्रिवेणीका पीडित स्थानीय बासिन्दाले न्याय पाउने अपेक्षा गरेका छन् ।

Skip This

Omoda E5 Pro