काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफूहरूले अब हरित क्रान्ति गर्ने बताएका छन् । शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै घिसिङले हिजो धेरै नाममा क्रान्ति हुँदा राजनीतिक परिवर्तन मात्रै भएको बताउँदै अब हरित क्रान्तिमार्फत देशको स्थिति परिवर्तन गर्ने बताएका हुन् ।
‘सरकारले राम्रोसँग काम गर्न सकेन भने नेपाली जनतालाई निराश हुन हामी दिँदैनौँ । त्यसको प्रतिवाद गर्छौँ । उज्यालो नेपाल पार्टी सधैँ जनताको माझमा रहेर जनताका मुद्दा र समस्याहरू बोकेर अगाडि बढ्छ । नेपालको एक सशक्त राजनीतिक शक्तिका रूपमा हामी आफूलाई स्थापित गर्दैछौँ । अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन । नयाँको विकल्प नयाँ नै हुन्छ र त्यो भनेको उज्यालो नेपाल पार्टी हो,’उनले भने ।
सरकारका काम–कारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै उनले जनअपेक्षाअनुसार काम हुन नसके पार्टीले सशक्त प्रतिवाद गर्ने चेतावनी समेत दिए ।
त्यस्तै रास्वपाको नीलो क्रान्ति धेरै नटिक्ने समेत उनले दावी गरे । अब अन्तिम क्रान्तिका रुपमा हरित क्रान्ति हुने र त्यो उज्यालो पार्टीबाट मात्रै सम्भव रहेको उनले ठोकुवा गरे ।



प्रतिक्रिया