‘मधेस सरकार विपद्प्रतिरोधी समाज निर्माण गर्न कटिबद्ध छ’


बरहथवा (सर्लाही), २२ जेठ । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सबैसँग सहकार्य गरी विपद् प्रतिरोधी समाज निर्माण गर्न प्रदेश सरकार कटिबद्ध रहेको बताएका छन् । आज सर्लाहीको बागमती नगरपालिका-११ कर्मैयास्थित वाग्मती नदीकिनारमा आयोजित अभ्यास हातेमालो कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकार्य र समन्वयमार्फत विपद्प्रतिरोधी समाज निर्माण गर्ने प्रतिबद्धता जनाए ।

प्रदेश सरकार विपद् व्यवस्थापन र उद्धारकार्यमा संलग्न रही सबै सुरक्षा निकायसँग सहकार्य गर्दै विपत्ति प्रतिरोधी समाज निर्माण गर्न तयार रहेको मुख्यमन्त्री यादवको भनाइ छ । उनले मधेसले विगतमा भोगेका प्राकृतिक विपत्ति र त्यसबाट जनधनमा पुगेको क्षतिको विश्लेषण गरी आगामी कार्ययोजना तयार गर्ने दाबी गरे ।

मुख्यमन्त्री यादवले नेपाली सेनाले विगतमा आमनागरिकको जनधनको क्षति न्यूनीकरणमा खेलेको भूमिका प्रशंसनीय रहेको बताए । सरकारले नीतिगत निर्णय गर्ने गरेको भए पनि त्यसको कार्यान्वयनको तहमा सुरक्षा निकायको महत्त्वपूर्ण भूमिका रहेको उनको दाबी छ ।

कार्यक्रममा प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले नागरिकको जनधनको सुरक्षाका लागि सरकार चनाखो रहेको बताए । उनले यस्ता कार्यलाई व्यापक बनाउन सके सुरक्षा निकायमा दक्षता वृद्धि हुने र प्राकृतिक विपत्तिका क्रममा त्यसको सदुपयोग गरी जनधनको रक्षा गर्न सकिने उल्लेख गरे । भौगोलिक रूपमा प्राकृतिक विपत्तिको अधिक जोखिम रहेको मधेस प्रदेशमा हरेक वर्ष ठूलो सङख्यामा नागरिक प्रभावित हुने गरेका उनले बताए ।

प्राकृतिक विपत्तिबाट हुने क्षति न्यूनीकरणको उद्देश्यसहित नेपाली सेनाको मध्यपूर्वी पृतना र मधेस प्रदेश सरकारको संयुक्त आयोजनामा हातेमालो कार्यक्रम आयोजना गरिएको पृतनापति उपरथी भुवन खत्रीले बताए । यस किसिमको कार्यक्रमको यो आठौँ संस्करण रहेको उनले जानकारी दिए ।

कार्यक्रममा मधेस प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराई, ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्य, मधेस प्रदेशभरिका विभिन्न गणका सेना प्रमुखको समेत उपस्थिति थियो । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, बागमती नगरपालिका–११ का वडाध्यक्ष प्रदीप आचार्य, चन्द्रपुर नगरपालिका(१ का वडाध्यक्ष बलराम राउत, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका प्रमुखलगायतको सहभागिता थियो ।

अभ्यास हातेमालोअन्तर्गत नेपाली सेनाका सुरक्षाकर्मी टोलीले आगलागी, बाढी, डुबानलगायत प्राकृतिक प्रकोपका क्रममा नागरिकको जनधनको रक्षाका लागि गर्ने उद्धारकार्य प्रदर्शन गरेका थिए । मुख्यमन्त्री यादव तथा अन्य अतिथिहरूले उक्त कार्यको अवलोकन गरे ।

Skip This

Omoda E5 Pro