दिल्लीमा रविको भव्य स्वागतपछि ऋषि धमला भन्छन्, ‘अब देशमा आर्थिक क्रान्तिको पालो’


काठमाडौँ, २३ जेठ । नेपाली पत्रकारिता जगत्का नक्षत्र एवं स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले विगत साढे तीन दशकदेखि उठाउँदै आएको नेपाल–भारत सम्बन्धको ‘आर्थिक एजेन्डा’ अन्ततः राष्ट्रिय राजनीतिको मूल मार्ग अर्थात् ‘बटम लाइन‘ बन्न सफल भएको छ । नेपाली रेडियो नेटवर्कको चर्चित कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार खेम बमलाई अन्तरवार्ता दिँदै वरिष्ठ पत्रकार धमलाले देशको समृद्धि र परराष्ट्र नीति र नेपाल–भारत सम्बन्धका विविध आयामसहित आफ्नो स्पष्ट, सबल र दूरगामी अडान राखेका छन् ।

धमलाको यो दृष्टिकोण र उनले वर्षौँदेखि कोरेको कूटनीतिक मार्गचित्र अहिलेको सत्ताको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भारत भ्रमणमा दुरुस्तै प्रतिबिम्बित भएपछि बौद्धिक वृत्तमा धमलाको ‘दूरदर्शिता’को चौतर्फी प्रशंसा र चर्चा हुन थालेको छ ।

वरिष्ठ पत्रकार ऋषि धमलाले विगत ३५ वर्षदेखि लगातार नेपाल–भारत सम्बन्ध सुमधुर हुनुपर्ने र त्यो केवल राजनीतिक गफमा मात्र नभई ‘आर्थिक कूटनीति’ मा केन्द्रित हुनुपर्ने वकालत गर्दै आएका हुन् । तथापि विगत दश वर्षदेखि धमलाले यही आवाजलाई जोडदार रुपमा मुखरित गर्दै आइरहेका छन् । रास्वपा सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किएपछि धमलाकै त्यही १० वर्षअघिको मान्यतामा रवि आइपुगेका छन् ।

सीमा विवादलाई राजनीतिक नाफाघाटाका लागि सडकमा उचालेर वा हल्लाखल्ला गरेर मात्र समस्या समाधान हुँदैन, यसलाई विशुद्ध कूटनीतिक माध्यम र दुवै देशका प्रतिनिधिहरू एकै ठाउँमा बसेर टेबल संवादबाट मात्रै टुङ्ग्याउन सकिन्छ भन्ने जुन परिपक्व अभिव्यक्ति रविको तर्फबाट आयो, धमलाले पनि विगत दश वर्षदेखि त्यही आवाज बोल्दै आएका थिए ।

धमलाले दाबी गर्दै भने, “रवि लामिछानेजीले नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष नितिन नवीन, गृहमन्त्री अमित शाह र परराष्ट्रमन्त्री एस. जयशंकरसँग भेट्दा सीमा विवादलाई अनावाश्यक रूपमा उचाल्न चाहनुभएन । किनभने, सीमा विवाद जति उचाल्यो, देशको आर्थिक एजेन्डा र समग्र विकास त्यति नै पछि पर्छ । नेपाललाई सबल बनाउन भारतको सहयोग र लगानी भित्र्याउनु आजको मुख्य आवश्यकता हो, जुन कुरा मैले वर्षौँदेखि भन्दै आएको थिएँ, आज रास्वपाले त्यसैलाई आफ्नो बटम लाइन बनाएको छ ।”

भारतीय जनता पार्टी (भाजपा) को मुख्यालयमा रवि लामिछानेलाई गरिएको ऐतिहासिक र भव्य स्वागतलाई धमलाले अत्यन्तै सकारात्मक रूपमा चित्रण गरे । संसारकै सबैभन्दा ठूलो लोकतान्त्रिक देश भारत र त्यहाँको सङ्गठित दल भाजपाले पछिल्लो समय ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल नीतिलाई उच्च प्राथमिकतामा राखेको संकेत यस भ्रमणले गरेको धमलाको ठहर छ ।

प्रधानमन्त्री बालेन शाह आफू भारत नगएको र विदेश सचिव भेट्न नचाहेको पृष्ठभूमिमा, भारतले सत्ताको नेतृत्व गरिरहेको दलका सभापति लामिछानेलाई बोलाएर संवादको नयाँ ढोका खोलेको धमलाको बुझाइ छ ।

भारतीय प्रधानमन्त्री मोदीले रविलाई भेटेपछि सामाजिक सञ्जालमा राखेको ‘स्टाटस’ले स्पष्ट पारेको छ कि भारत नेपालसँग विकास र समृद्धिका लागि सहकार्य गर्न पूर्ण रूपमा तयार छ । रविको भ्रमणलगत्तै परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण हुनुले यो संवादको कडीलाई अझ बलियो बनाएको धमलाको ठम्याइ छ ।

नेपाल–भारत सम्बन्धलाई प्रगाढ बनाउन भारतका रक्षामन्त्री राजनाथ सिंह, प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस नेता राहुल गान्धीलगायतका शीर्ष नेताहरूसँग पटक–पटक अन्तर्वार्ता र संवाद गरिसकेका चर्चित पत्रकार धमलाले दुवै देशका नेताहरूलाई एउटै मञ्चमा राखेर बहस गराएको गौरवशाली इतिहासको पनि अन्तर्वार्ताका क्रममा स्मरण गरेका छन् ।

धमलाले भने, ‘मैले चार वर्षअघि नै रक्सौल–काठमाडौँ रेलमार्ग बन्नुपर्छ र पोखरा तथा भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुनुपर्छ भनेर बोलेको हुँ । पशुपतिनाथ, लुम्बिनी, मुक्तिनाथ र जानकी मन्दिरलाई जोडेर नेपालमा ५० लाख भारतीय धार्मिक पर्यटक भित्र्याउने एजेन्डा नै अबको विकासको मोडल हो ।’

सुस्ता र कालापानीको विषयमा ९८ प्रतिशत सीमा विवाद समाधान भइसकेको भारतीय पक्षको र सीमाविद् बुद्धिनारायण श्रेष्ठको भनाइ र बाँकी २ प्रतिशत पनि बंगलादेश मोडलमा वार्ताको टेबुलबाटै टुङ्ग्याउन सकिने र यसका लागि रवि लामिछाने अहिले एउटा ‘परिपक्व राजनेता’का रूपमा उदाएको वरिष्ठ पत्रकार धमलाले विचार प्रस्ततु गरे ।

अन्तरवार्ताको अन्त्यमा वरिष्ठ पत्रकार धमलाले देशको आन्तरिक राजनीति र आर्थिक अवस्थाबारे पनि आफ्नो दह्रो राष्ट्रवादी अडान प्रस्तुत गरे । वर्तमान सरकारलाई सय दिन बिनाआलोचना काम गर्न दिनुपर्ने भन्दै धमलाले सुशासन, जनताका मुद्दा र सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि बालेन सरकारले स्पष्ट रणनीति बनाउनुपर्ने सुझाव दिए ।

जनताको सुखदुःखमा सधैँ सँगै रहने प्रतिबद्धता जनाउँदै धमलाले आफ्ना मुख्य एजेन्डाहरू यसरी प्रस्तुत गरे–
१. गरिब जनताका लागि शिक्षा र स्वास्थ्य पूर्ण रूपमा निःशुल्क हुनुपर्छ ।
२. गरिबलाई बिजुली निःशुल्क दिनुपर्छ, त्यसमा भ्याट लगाउने होइन ।
३. व्यापारीहरूलाई तर्साउने काम बन्द गरी बन्द उद्योगहरू खोल्न सरकारले उद्योगपतिहरूलाई साथ दिनुपर्छ र आर्थिक क्रान्ति गर्नुपर्छ ।
४. देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन मल कारखाना खोल्नुपर्छ र किसानलाई सहुलियत दरमा ऋण तथा सिँचाइको व्यवस्था गर्नुपर्छ ।
आफ्नो यो स्पष्ट मार्गचित्र र रास्वपा सभापति रवि लामिछानेको परिपक्व कूटनीतिक कदमले आगामी दिनमा नेपाल–भारत सम्बन्धले नयाँ उचाइ लिने र देश आर्थिक समृद्धिको दिशामा अघि बढ्ने निश्चित देखिएको वरिष्ठ पत्रकार ऋषि धमलाको ठहर छ। अन्ततः आफ्नो भिजन नै नेपालको परराष्ट्र नीतिको मुख्य मार्ग बन्न पुगेको अन्तर्वार्ताका क्रममा धमलाले आफ्नो दाबी प्रस्तुत गरेका छन् ।

Skip This

Omoda E5 Pro