विश्व वातावरण दिवसमा ‘हरित काव्य गोष्ठी’


काठमाडौँ, २३ जेठ । विश्व वातावरण दिवसका अवसरमा आज यहाँ ‘हरित काव्य गोष्ठी’ आयोजना गरिएको छ ।

वातावरण संरक्षण, जैविक विविधताको रक्षा तथा जलवायु परिवर्तनका चुनौतीबारे चेतना बढाउने उद्देश्यले ‘वर्तमान कविता समूह’, ‘रातोघर’, ‘शब्दाङ्कुर’ र कोटेश्वर बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा गोष्ठी भएको हो ।

वातावरणीय सङ्कट, जलवायु परिवर्तन, वनविनाश, प्रदूषण र जैविक विविधतामाथि बढ्दो जोखिमलगायत विषयलाई स्रष्टाहरूले आफ्ना कवितामार्फत प्रस्तुत गरेका थिए ।

कविहरू कृष्ण बाउसे, यशोदा अधिकारी, लक्ष्मी माली, अनिता लामा, स्नेह सायमी, प्रज्ज्वल अधिकारी र किसन पौडेललगायत कविले आफ्ना सिर्जनामार्फत मानव गतिविधिका कारण प्रकृतिमा परेको असर, मौसम परिवर्तनले निम्त्याएका चुनौती तथा भावी पुस्ताले भोग्नुपर्ने सम्भावित सङ्कटबारे प्रस्तुति गरेका थिए ।

पर्यावरणीय साहित्य अभियानका अभियन्ता विश्व सिग्देलले नेपाली साहित्यमा पर्यावरणसम्बन्धी विषयले स्थान पाउन थालेको उल्लेख गर्दै भविष्यमा पनि साहित्यिक क्षेत्रबाट वातावरण संरक्षण अभियानलाई अझ सशक्त बनाइने प्रतिबद्धता व्यक्त गरे ।

रातोघर फाउन्डेसनका तर्फबाट स्नेह सायमीले पर्यावरण संरक्षण नगरे मानव मात्र नभई जीवजन्तु तथा वनस्पति जगत् सङ्कटमा पर्ने वास्तविकता औँल्याए ।

Skip This

Omoda E5 Pro