पत्रकारमाथि धरपकडको छानबिन गर्न संसदीय समिति गठन गर्न कांग्रेसको माग


काठमाडौं । नेपाली कांग्रेसले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकडको छानबिन गर्न संसदीय विशेष समिति गठनको माग गरेको छ।

सोमबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले घटनाको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गरी संलग्न व्यक्ति तथा आदेश दिनेलाई समेत कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको हो।

कांग्रेसकी प्रमुख सचेतक बासना थापाले लोकतन्त्रमा सरकार संविधान र कानुनभन्दा माथि हुन नसक्ने बताउँदै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप स्वीकार्य नहुने धारणा राखिन्।

कांग्रेसले भनेको छ, “स्पष्ट कानुनी आधार, पुर्जी वा अदालतको अनुमति सार्वजनिक नगरी समाचार कक्षमै प्रहरी परिचालन गरिनु स्वतन्त्र पत्रकारितामाथिको अनुचित दबाब र विधिको शासनविपरीत रहेको” छ।

कांग्रेसले पत्रकारमाथि भएको धरपकडबारे सरकारले जवाफ दिनुपर्ने र दोषीलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने माग गरेको छ। साथै, घटनाको छानबिनका लागि संसदीय विशेष समिति गठन गर्न तथा प्रतिनिधिसभा बैठक सञ्चालन गर्न पनि माग गरेको छ।