काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको महासचिव पदका उम्मेदवार नुर मोहम्मद मियाले सुरक्षित, मर्यादित र व्यवस्थित वैदेशिक रोजगार व्यवसायका लागि नीति, विधि र थिति बलियो हुनुपर्ने बताएका छन्।
लामो समयदेखि वैदेशिक रोजगार क्षेत्रमा सक्रिय मियाले वैदेशिक रोजगार क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र व्यवसायीमैत्री बनाउन स्पष्ट नीति, निष्पक्ष विधि र स्थापित थिति आवश्यक रहेको उल्लेख गरे । उनले भने, ‘सुरक्षित, मर्यादित र व्यवस्थित वैदेशिक रोजगार व्यवसायका लागि नीति, विधि र थिति बलियो हुनुपर्छ। जब नीति स्पष्ट हुन्छ, विधि निष्पक्ष हुन्छ र थिति स्थापित हुन्छ, तब मात्र व्यवसाय र व्यवसायी सुरक्षित हुन्छन्।’

उनले स्वतन्त्र वैदेशिक रोजगार समुहको तर्फबाट हरिप्रसाद पाण्डेको नेतृतवमा महासचिव पदकाे उम्मेदवारी दिएका हुन् । मियाले वैदेशिक रोजगार क्षेत्रलाई विभिन्न चुनौतीबाट मुक्त गर्दै व्यवसायीहरूको हकहित संरक्षण, संस्थागत सुधार र सुशासनको प्रवर्द्धन आफ्नो प्राथमिकता रहने बताएका छन्।
मियाले सम्पूर्ण व्यवसायीहरूको साथ, सहयोग र विश्वासको अपेक्षा गर्दै वैदेशिक रोजगार क्षेत्रको समग्र विकासका लागि आफूले रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
भुवनसिंह गुरुङको नेतृत्वमा रहेको बहुमत पदाधिकारीले गत वैशाखमा राजीनामा दिएपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विधानअनुसार स्वत गुरुङ नेतृत्वको कार्यसमिति विघटन भएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले संघको विशेष साधारणसभा गर्न पत्र पठाएको थियो ।
संघको महाधिवेशन आज(आइतबार) भइरहेकाे छ ।



प्रतिक्रिया