काठमाडौँ । नेपाल र भारतबीचको सीमा विवाद समाधानका लागि बेलायतको मध्यस्थता नखोजिएको परराष्ट्रमन्त्री शिशिर खनालले स्पष्ट पारेका छन् । नयाँ दिल्लीमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री खनालले नेपालले कुनै तेस्रो पक्षको मध्यस्थताभन्दा पनि ऐतिहासिक दस्तावेजहरूमा पहुँच मात्र बनाउन खोजेको बताएका हुन् ।
यसअघि संसदमा प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवाद समाधानका लागि बेलायत सरकारसँग पनि कुराकानी भइरहेको अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीको सोही भनाइलाई थप स्पष्ट पार्दै परराष्ट्रमन्त्री खनालले भने, “हामीलाई ऐतिहासिक प्रमाणहरू आवश्यक पर्छन्, हामी यूकेका पुस्तकालय वा संग्रहालयहरूमा हुनसक्ने केही दस्तावेजहरूमा हाम्रो पहुँच हुन सक्छ कि भनेर हेर्न मात्र चाहन्थ्यौँ । यसको अर्थ हामीले मध्यस्थता मागेका हौँ भन्ने होइन ।”
नेपाल र भारतबीचको सीमा समस्यालाई कूटनीतिक माध्यमबाटै टुङ्ग्याउनुपर्नेमा जोड दिँदै मन्त्री खनालले कुनै पनि तेस्रो पक्षको संलग्नताबिना आपसी कुराकानी र द्विपक्षीय कूटनीतिक प्रयासबाटै नेपाल यसको समाधान चाहन्छ भन्ने कुरा उल्लेख गरे ।



प्रतिक्रिया