काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सांगठनिक संरचनालाई देशव्यापी रूपमा बलियो बनाउने अभियानअन्तर्गत पहिलो जिल्ला अधिवेशन सुरु गरेको छ । पहिलो चरणअन्तर्गत बागमती र कोशी प्रदेशका १८ जिल्लाहरूमा अधिवेशन सफलतापूर्वक सम्पन्न भई नयाँ कार्यसमिति चयन भएका छन् ।
केन्द्रीय निर्वाचन आयोगकाअनुसार बागमती प्रदेशका ९ र कोशी प्रदेशका ९ जिल्लाले नयाँ नेतृत्व पाएका हुन् ।
अधिवेशन परिणामअनुसार बागमती प्रदेशका मुख्य जिल्लाहरूमा नेतृत्व बाँडफाँड भएको छ । जसमा काठमाडौँको जिल्ला सभापतिमा राजा शाक्य, भक्तपुरमा रामेश्वर बस्नेत र काभ्रेपलाञ्चोकमा प्रविन ढकाल निर्वाचित भएका छन् । त्यस्तै, सिन्धुलीमा अविनाश बस्नेत, रामेछापमा रमेश रायमाझी, दोलखामा दिनेश बस्नेत, नुवाकोटमा रामेश्वर गजुरेल, धादिङमा राजन अर्याल र मकवानपुरमा सञ्जिव पाठकले नेतृत्वको जिम्मेवारी पाएका छन् । बागमतीकै चितवन, रसुवा र ललितपुरमा अधिवेशनको प्रक्रिया अघि बढेको छ भने सिन्धुपाल्चोकको अधिवेशन हाललाई स्थगित गरिएको छ ।
यता कोशी प्रदेशतर्फ पनि ९ जिल्लाको नेतृत्व टुङ्गिएको छ । सुनसरीको सभापतिमा सागर दाहाल, झापामा ओम भण्डारी, ताप्लेजुङमा राजनकुमार गुरुङ, मोरङमा भरत कँडेल, तेह्रथुममा सुमन खत्री, भोजपुरमा ख्यामबहादुर भुजेल, संखुवासभामा भक्तनारायण श्रेष्ठ र ओखलढुंगामा कृष्णबहादुर थापा सभापति निर्वाचित भएका छन् । कोशीका बाँकी जिल्लाहरू धनकुटा, उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाममा अधिवेशनको प्रक्रिया जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
जिल्ला अधिवेशनहरूलाई व्यवस्थित र विवादरहित बनाउन रास्वपाको केन्द्रीय निर्वाचन आयोगले प्रतिनिधि छनोटमा कडा मापदण्ड लागू गरेको छ । रास्वपाका अनुसार अधिवेशन सम्पन्न हुन बाँकी रहेका पालिकाका कुनै पनि विभागबाट जिल्ला अधिवेशनमा प्रतिनिधित्व गराइने छैन ।
त्यस्तै, अधिवेशन सम्पन्न भइसकेका पालिकाको हकमा भने गत वैशाख १५ गतेभन्दा अगाडि नै नियुक्त भइसकेका विभागीय सदस्यहरूले मात्र जिल्ला अधिवेशन प्रतिनिधि हुन पाउने वैधानिक व्यवस्था गरिएको छ । पार्टीले आज देशभरका कुल २८ जिल्लामा अधिवेशनको तालिका तय गरी सांगठनिक कार्यलाई तीव्रता दिएको छ ।



प्रतिक्रिया