रास्वपा बर्दिया सभापतिमा शान्ता बुढा क्षेत्री विजयी, उपसभापतिमा दुर्गाप्रसाद थारु


गुलरिया । राष्ट्रिय स्वतन्त्र पार्टी बर्दियाको प्रथम जिल्ला अधिवेशनबाट शान्ता बुढा क्षेत्री जिल्ला सभापतिमा निर्वाचित भएकी छन् । यसअघि कार्यवाहक सभापतिको भूमिकामा रहेकी बुढा क्षेत्रीले आफ्ना प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पराजित गर्दै नेतृत्व हत्याएकी हुन् ।

निर्वाचन समितिका अनुसार विजयी बुढा क्षेत्रीले १५८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी उदयबहादुर खत्रीले मात्र ४६ मत प्राप्त गरे ।

त्यस्तै, जिल्ला उपसभापति पदमा दुर्गाप्रसाद थारु १५२ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी मुकेशकुमार थारुले ३५ मत मात्रै प्राप्त गरे । जिल्ला कार्यसमितिको सचिवमा दीपकबहादुर बीसी र सहसचिवमा शरद तिवारी निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी खुल्ला सदस्य पदतर्फ अर्जुन भण्डारी, हेमराज सुवेदी, अजित कुमार मल्ल, सोम बहादुर गुरुङ, रमेश अर्याल, विष्णु प्रसाद उपाध्याय, गीता खड्का र लिला पनेरु निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनसँगै बर्दियामा रास्वपाले आफ्नो सांगठनिक गतिविधिलाई थप आक्रामक बनाउने दाबी गरेको छ ।

Skip This

Omoda E5 Pro