भारतमा ककरोच जनता पार्टीको आन्दोलनले ठूलो रूप लिन सक्ला ?


काठमाडौं । ककरोच जनता पार्टीले शनिबार भारतको नयाँ दिल्लीस्थित जन्तर मन्तरमा विरोध प्रदर्शन गर्‍यो । केही दिनमै दुई करोडभन्दा बढी फलोअर्स जुटाउन सफल सामाजिक सञ्जाल एकाउन्ट ‘ककरोच इज ब्याक’को आह्वानमा ठूलो संख्यामा मानिस प्रदर्शनमा सहभागी भए ।

प्रदर्शनकारीले एक स्वरमा केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरे । ककरोच जनता पार्टीले यसनिम्ति सरकारलाई एक साताको ‘अल्टिमेटम’ समेत दिएको छ ।

केही राजनीतिक विश्लेषकले यसलाई अझै पनि अपरिपक्व र दिशाहीन आन्दोलनका रूपमा हेरेका छन् । आन्दोलनमा अनुभवी नेतृत्वको अभाव यसको प्रमुख कमजोरी रहेको उनीहरूको बुझाइ ।

ककरोच जनता पार्टीले उठाएका मुद्दाप्रति देखिएको जनआकर्षणलाई आधार मान्दै केही विश्लेषकले यसमा सम्भावना पनि देखेका छन् । उनीहरू भन्छन्, “आगामी बाटो हामी सबै मिलेर तय गर्नेछौँ । अहिले हाम्रो भविष्य आजकै संघर्षसँग जोडिएको छ । र, आज हामी धर्मेन्द्र प्रधानले राजीनामा दिऊन् वा प्रधानमन्त्री मोदीले उनलाई राजीनामा दिन बाध्य पारून् भन्ने माग गरिरहेका छौँ ।”

ककरोच जनता पार्टीका प्रवक्ता सौरभ दासले यति ठूलो संख्यामा मानिस उपस्थित भएर आन्दोलनलाई स्वीकार्यता दिइएको टिप्पणी गरे । उनले भने, “यहाँ यति धेरै मानिस जम्मा हुने अपेक्षा नै थियो । केही मानिस अरू सहरमा भएका कारण आउन सकेनन् । तर, हामीलाई यो आन्दोलन सही दिशामा छ भन्ने स्वीकार्यता मिलिसकेको छ ।”

यद्यपि, प्रदर्शनमा सहभागी संख्याका विषयमा सामाजिक सञ्जालमा बहस भइरहेको छ । ककरोच जनता पार्टीका अर्का प्रवक्ता आशुतोष रंकाले भने, “उनीहरूले मानिसको गणना गरेका छैनन्, तर यो संख्या सहजै हजारौँमा थियो ।”

वरिष्ठ पत्रकार एवं राजनीतिक विश्लेषक शरद गुप्ता शनिबार जन्तर मन्तरमा जसरी मानिस जम्मा भए, त्यसले व्यवस्थाप्रति जनतामा रहेको असन्तुष्टि र आक्रोशको प्रभाव देखाउने बताउँछन् । उनी यसलाई निर्भयाकाण्डपछि मौसमको पर्वाह नगरी मानिस सडकमा उत्रिएको घटनासँग पनि जोड्छन् ।

यद्यपि, हालको अवस्थामा यसले बीपी सिंह, जयप्रकाश नारायण (जेपी) वा अन्ना हजारेको आन्दोलनको जस्तो रूप लिन सक्नेमा उनी विश्वस्त छैनन् ।

cockroach-pradarsan1-1780827068.jpgअर्कोतर्फ, वरिष्ठ पत्रकार एवं राजनीतिक विश्लेषक स्मिता गुप्ता मोदी सरकारको ‘हनिमुन पिरियड’ समाप्त भइसकेको समयमा यो आन्दोलन भएको बताउँछिन् ।

उनी भन्छिन्, “देशको आर्थिक अवस्था, पश्चिम एसियामा जारी युद्धको प्रभाव र अरू कारणले गर्दा मानिस अहिलेको परिस्थितिबाट दिक्क हुन थालेका छन् ।”

ककरोच जनता पार्टीका प्रवक्ता आशुतोष रंकाले भने, “यो त सुरुआत मात्र हो । युवाका यति धेरै समस्या र मुद्दा छन्, तर ती मुद्दा उठाउने प्रयास हुँदा बारम्बार धर्म वा जातिको बहसमा अल्झाइन्छ । अहिले सबैभन्दा महत्त्वपूर्ण मुद्दा धर्मेन्द्र प्रधानको राजीनामा हो ।”

तर, वरिष्ठ पत्रकार शरद गुप्ता जन्तर मन्तरको प्रदर्शनलाई व्यवस्थाप्रतिको आक्रोशको अभिव्यक्ति मात्र मान्छन् । यो ठूलो राजनीतिक आन्दोलनमा परिणत हुने सम्भावना अहिले निकै कम रहेको उनले टिप्पणी गरे ।

उनी भन्छन्, “यी मानिससँग कुनै स्पष्ट रणनीति छैन । उनीहरू युवाभित्र दबिएको आक्रोशलाई अभिव्यक्त गरिरहेका छन् । तर, जबसम्म यसले स्पष्ट दिशा पाउँदैन, तबसम्म यो कहिले यता त कहिले उता भड्किरहनेछ ।”

उनले अगाडि भने, “अहिले युवाको यो आक्रोश धर्मेन्द्र प्रधानविरुद्ध र अभिजीत दीपकेका पक्षमा देखिएको छ, भोलि यो कसैको पक्ष वा विपक्षमा जान सक्छ ।”

स्मिता गुप्ता पनि तत्कालै ककरोच जनाता पार्टीलाई ठूलो राजनीतिक आन्दोलनका रूपमा हेर्न हतार हुने बताउँछिन् । उनी भन्छिन्, “यो राजनीतिक आन्दोलन बन्छ कि बन्दैन अहिले नै भन्न सकिँदैन । तर, यसमा धेरै सम्भावना छ ।”

उनका अनुसार, विगतका धेरै आन्दोलन वैचारिक वा व्यापक विषयमा केन्द्रित थिए, जसले प्रत्यक्ष रूपमा आममानिसको दैनिक जीवनलाई छोएका थिएनन् । तर, ककरोच जनता पार्टीले उठाएको विषय युवा र उनीहरूका परिवारसँग प्रत्यक्ष रूपमा जोडिएको छ ।

जवाहरलाल नेहरू विश्वविद्यालयमा कन्हैया कुमार, उमर खालिद र शहला रसिदसँग जोडिएको आन्दोलनको उदाहरण दिँदै उनी भन्छिन्, “त्यो लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताजस्ता बृहत् मुद्दामा आधारित आन्दोलन थियो । त्यस आन्दोलनका प्रमुख अनुहारहरूको अवस्था पछि के भयो, सबैलाई थाहा छ ।”

उनले थपिन्, “यी वैचारिक मुद्दा देशका निम्ति महत्त्वपूर्ण त हुन्छन्, तर तिनले प्रत्यक्ष रूपमा आममानिसलाई असर गर्दैनन् । ककरोच जनता पार्टीको मुद्दा भने त्यस्तो होइन । यसमा कुनै न कुनै रूपमा युवाका अभिभावकहरू पनि जोडिन्छन् । जबकि, बृहत् वैचारिक आन्दोलन प्रायः सानो दायराभित्रै सीमित हुने गर्छन् ।” बीबीसी हिन्दीबाट

Skip This

Omoda E5 Pro