भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै


ख्वप (भक्तपुर), २४ भदौ । पाँच दीपङ्कर बुद्धलाई भक्तपुर नगर परिक्रमा गराउँदै आज भक्तपुरमा पञ्चदान पर्व मनाइँदै छ। ऐतिहासिक परम्पराअनुसार मल्ल राजा नरेश मल्लको शासनकालमा नेपाल संवत् ७७५ मा जयदेव बज्राचार्यले पञ्चदान पर्व सुरु गरेका हुन भन्ने भनाइ छ।

बौद्ध संस्कृतिअनुसार प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशी अर्थात् ‘पञ्चदान च¥हे’ का दिन यो पर्व मनाउने गरिन्छ। आज यहाँका पाँच महाविहारबाट निकालिएका पाँच दीपङ्कर बुद्धलाई दिनभर नगरका विभिन्न स्थान तथा बौद्ध विहारमा परिक्रमा गराउने गरिन्छ।

काठमाडौं उपत्यका तथा आसपासका केही जिल्लामा मनाइने पञ्चदान पर्वमध्ये भक्तपुरमा मनाइने पञ्चदानको आफ्नै मौलिकता विशेषता छ। स्थानीय भाषामा पञ्चदानलाई ‘पञ्जदान’ वा ‘पञ्जरां’ भनिन्छ। यस दिन पृथ्वीबाट उत्पादित अन्न तथा फलफूललगायत पाँच प्रकारका वस्तु दान गर्ने परम्परा छ।

भक्तपुर नगरपालिका–९ सूर्यमढीमा बस्ने जमुना कासिछ्वाले पञ्चदानको दिन बिहानै टोलको सूर्यमढी डबलीमा ल्याउने भएकोले दान गर्न बसेको बताइन्।  दिउँसो खेतमा जानुपर्नेहरु बिहानै यहाँ आएर दान गर्न आउने गरेको उनले बताइन्। साथै आज पञ्चदानको दिन घरघरमा क्वाटी बनाएर खाने चलन छ।

भक्तपुरका स्थानीय अल्बर्ड बज्राचार्यले यसअघि नगरका  विभिन्न पाँच स्थानमा राखिएका दीपङ्कर बुद्धलाई सूर्यमढी ल्याउने बताए। प्रशन्नशील महाविहार क्वाठण्डौं मूल दीपङ्कर बुद्ध, चर्तुब्रह्म महाविहार साकोठाको दीपङ्कर बुद्ध, मङ्गलधर्म दीप महाविहार झौरवही पलिखेलको दीपङ्कर बुद्ध, जयकीर्ति महाविहार थथुवही इटाछेंको दीपङ्कर बुद्ध र बौद्ध समकृत विहार कुथुवही, भक्तपुर मिनीबसपार्कको दीपङ्कर बुद्धलाई सूर्यमढीस्थित डबलीमा राख्ने गरिन्छ।

स्थानीयले आफ्नो गच्छेअनुसार पाँच दीपङ्कर बुद्धलाई धान, मकै, गहुँ, भटमास, ढिके नुन, घिरौंला, बोडी, काँक्रोलगायत जमिनमा उत्पादन भएका काँचो खाद्यवस्तु  चढाउने परम्परा छ। पञ्चदानका अवसरमा स्थानीयले बिहानैदेखि शाक्य, बज्राचार्य तथा भिक्षुलाई भिक्षा अर्थात् दान दिने चलन छ। भक्तपुर नगरपालिका–१० क्वाठण्डौं बस्ने उज्ज्जवलचन्द्र बज्राचार्यले आफूू ३–४ वर्षको उमेरदेखि पञ्चदानमा सहभागी हुँदै आएको बताए।

आजभोलिका युवा पञ्चदान लिन लजाउने गरेको उनी बताउँछन्। त्यसैले पञ्चदानमा पहिलाको तुलनामा कम सहभागी हुने गरेका छन्। दीपङ्कर बुद्धसँगै बौद्धमार्गी बौद्ध परम्पराअनुसार पिण्डपात्र (गुलुपा) हातमा लिएर भिक्षाटनमा सहभागी हुने उनले बताए। काठमाडौं उपत्यका तथा अन्य क्षेत्रमा मनाइने पञ्चदानभन्दा भक्तपुरको पञ्चदान फरक र विशेष किसिमको छ।

विभिन्न सामग्री दान गर्ने परम्परा

पञ्चदानका दिन पूजामा सूर्यमुखी फूल, धूप, दीप, गन्ध र रस तथा भोजन सामग्रीमा धान, चामल, गहुँ, क्वाँटी, केराउ, मास, पिँडालु, मुलालगायतका वस्तु दान गर्ने गरिन्छ। त्यस्तै पेय पदार्थमा सख्खर पानी (सखत), सिसाफल तथा अन्य फलफूल, औषधिमा हर्रो, अमला, गुलःलगायत नून, तेल र आवश्यक सामग्री दान गर्ने परम्परा छ।

सियो, धागो, डोरी, कुचो, सेतो कपडा, काषाय वस्त्र, आसन, खरीढुङ्गा, चक तथा दतिवनलगायतका वस्तु पनि दान गर्ने गरिन्छ। भक्तपुर नगरको पूर्वमा रहेको आदिपद्म महाविहारबाट सुरु हुने पूजा नगरको पश्चिमस्थित थथुवहीमा पुगेर सम्पन्न गर्ने परम्परा छ।

पञ्चदानका क्रममा बालबालिकादेखि वृद्धवृद्धासम्म भिक्षा ग्रहणका लागि लामबद्ध भएर नगर परिक्रमा गर्ने तथा भिक्षा ग्रहण गर्ने प्रचलन छ। पञ्चदानको अर्को प्रमुख विशेषता गुँलाबाजा बजाउनु हो।  टौमढीमा बौद्धमार्गीले दान गाथा तथा स्तोत्र वाचनसँगै गुँलाबाजा बजाउने गर्दछन्।

यस पर्वमा विशेष रूपमा बजाइने गुँला धाः बाजासँगै प्वंगा, दाफा भजन तथा श्रृङ्गभेरीलगायत परम्परागत बाजागाजाका समूहले दीपङ्कर बुद्धको यात्राका क्रममा आफ्नो साङ्गीतिक प्रस्तुति दिने प्रचलन छ।

अल्बर्ड बज्राचार्यले आफू बुद्धका अनुयायी भएकाले  आर्जन गरेको आयको केही अंश दानका लागि छुट्याएर पञ्चदान पर्वका दिन दान गर्ने परम्परा रहेको बताए। पाँच दीपङ्कर बुद्धलाई पाँच पाण्डव नभई ती पाँचवटा दीपङ्कर बुद्ध नै रहेको छ।

भक्तपुर नगरपालिका–२ तेखाचोस्थित जेतवर्ग महाविहार आरती गुथि नेवा संघले पञ्चदानमा चढाइने सामग्री छुट्टाछुट्टै प्याकिङ गरी व्यवस्थितरूपमा चढाउन श्रद्धालुलाई अनुरोध गरेको जनाएको छ।