काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको अधिवेशन मंगलबार हेटौँडामा हुने भएको छ । हेटौँडा–१ स्थित हिमालयन दरबारमा हुने रास्वपा बागमती प्रदेशको अधिवेशनका लागि प्रदेशका १३ जिल्लाबाट प्रतिनिधिहरू आउने रास्वपा बागमती प्रदेश सभापति तथा प्रतिनिधिसभा सांसद डा.अच्युत्तम लामिछानेले जानकारी दिए ।
पहिलो प्रदेश अधिवेशन प्रदेश राजधानी हेटौँडामै आयोजना गर्न लागिएकाले पार्टीको विचार, सिद्धान्त र सङ्गठनात्मक सन्देश जनस्तरसम्म पुर्याउन सहज हुने उनले बताए ।
उनका अनुसार बागमती प्रदेशका १३ वटै जिल्लाबाट करिब १ हजार ५०० प्रतिनिधि सहभागी हुनेछन् । प्रदेशका जिल्ला, पालिका तथा वडा तहबाट छनोट भएका प्रतिनिधिहरू अधिवेशनमा सहभागी हुने उनले बताए ।
उनका अनुसार प्रदेशका १ हजार १२१ वडामध्ये करिब ९०० वडामा अधिवेशन सम्पन्न भइसकेको छ भने ११९ वटै पालिकामा पार्टीको संगठन विस्तार भएको छ । रास्वपाले अधिवेशनका लागि प्रतिनिधिहरूले जनही एक हजार ५०० रुपैयाँ प्रतिनिधि शुल्क बुझाउने व्यवस्था गरिएको छ ।
अधिवेशनमा पार्टी सभापति रवि लामिछानेसहित केन्द्रीय नेतृत्वको समेत उपस्थिति रहने उनको भनाइ छ ।



प्रतिक्रिया